प्रेमीबाट छुटाउन चाँदनीको हत्या

विराटनगर । विराटनगर–५ विशालचोकमा १४ वर्षीया चाँदनी यादवको हत्यापछि आमाबुवा र मावलीतर्फका आफन्त मिलेर चारफिट गहिरो खाडल खनेर शव गाडेको खुलेको छ ।

प्रेम सम्बन्धबाट छुटाउने नाममा बाबुआमा र मामली परिवार मिलेर यातना दिने क्रममा उनको मृत्यु भएपछि सबै मिलेर शव गायव गर्ने प्रयत्न भएको पाइएको हो । त्यस क्रममा उनीहरुले चाँदनीको शव मावली घरदेखि १२५ मिटर उत्तरमा चार फिट गहिरो खाल्डो खनेर गाडेका थिए । उक्त शव प्रहरीले शुक्रबार उत्खनन् गरेर निकालेको थियो ।

चाँदीनको घर भारत बिहार प्रदेशको छपरा जिल्लामा हो । उनी पुसको पहिलो हप्ता आमा राजकुमारी र दाजुसँग मामाघर विराटनगर आएकी थिइन् । मामा घर आएको एक महिनापछि ११ माघमा उनको हत्या भएकोे हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, प्रहरीले हत्याको मिति पत्ता लगाउन घटनाको अनुसन्धान गरिरहेको र पक्राउ परेकाहरुबाट भने घटनाका बारेमा थप तथ्य पत्ता लगाउने प्रयत्न प्रहरीले गरिरहेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले अनुसंधानबाट थप तथ्य पत्ता लाग्ने विश्वास व्यक्त गरे ।
‘भारतमा १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध थियो । एक पटक ती व्यक्तिसँग भागेपछि चाँदनीको बुवाआमाले मामाघर ल्याएका रहेछन् । ती व्यक्तिसँग छुटाउने उद्देश्य राखी बाबुआमाले उनलाई मावली लिएर आए । तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसिन् । रिसको झोंकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको पाइयो,’ घटनाको अनुसन्धान गर्दै आएको एक प्रहरी अधिकृतले भने, ‘अहिले मामाघरतर्फको पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौं । थप विषय खुल्दै जानेछ । हामीले गहन तरिकाले अनुसन्धान सुरु गरेका छौं ।’

प्रहरीले यस घटनामा आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरी नियन्त्रणमा चाँदनीका मामली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, छोरा रामबाबु मण्डल, जेठी छोरी उर्मीला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डललगायतलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।प्रहरी नियन्त्रणमा रहेकाहरुले अहिले नै सबै वास्तविक कुरा खोलिसकेका छैनन्,’ डिएसपी जोशीले भने, ‘थप प्रमाण जुटाउने काम भइरहेको छ ।’

हत्यापछि भोलिपल्टै घर फर्किए आमा र दाजु

चाँदनीको हत्या गरेपछि मामाघरबाट १२५ फिट उत्तरमा ४ फिट गहिरो खाल्डो खनेर शरीरका कपडासहितको शव गाडिएको थियो । चाँदनीको हत्यापछि शव व्यवस्थापन गरेर भोलिपल्ट आमा र दाजु भारतस्थित घर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘मावली परिवारसँग मिलेर छोरीको हत्या गरेपछि आमा राजकुमारी र चाँदनीको दाजु घर फर्किएछन्,’ घटनाको अनुसन्धान गर्दै आएका एक अनुसन्धान अधिकृतले भने, ‘हत्या कसरी गरियो भन्ने यकिन छैन । त्यस विषय पत्ता लगाउन हामीले पक्राउ परेकासँग थप सोधपुछ र थप सबुत प्रमाण खोज्दैछौं ।’

हत्या कसरी भयो भनेर अहिल्यै भन्न सकिने अवस्था नरहेको प्रहरीले बताएको छ । ‘हेरेर अनुमान गर्नसक्ने अवस्था छैन । शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ । घटना यकिन गर्न पोस्टमार्टम रिपोर्ट आउनैपर्छ । थप अनुसन्धानसमेत भइरहेको छ,’ डीएसपी जोशीले भने ।

शवस्थलसम्म यसरी पुग्यो प्रहरी..

मामाघर आएकी चाँदनी केही दिनदेखि घरमा नदेखिएपछि छिमेकीहरुलाई संका लाग्यो । एक कान दुई कान गर्दै चाँदनी हराएको हल्ला गाउँ टोलमा चल्यो । त्यसपछि प्रहरी चाँदनीको मामा घरमा पुग्यो । चाँदनीका हजुरबुवा सरजुग मण्डलले चाँदनी भारतस्थित आफ्नै घर फर्किएको बताए ।

प्रहरीले चाँदनीको अवस्था यकिन गर्न बाबुआमासँग सम्पर्क ग¥यो । त्यसबेला उनीहरुले छोरी मामा घरमै रहेको बताए । दुई परिवारको कुरा आपसमा बाझिएपछि घटना रहस्मय रहेको भन्दै मोरङ प्रहरीबाट अनुसन्धान टोली परिचालन भयो ।
‘बालिकाका बारेमा सोधीखोजी गर्दा वास्तै गरेनन् । बाबुआमा र मामली हजुरबुवाको भूमिका शंकास्पद देखियो । बारम्बार कुरा फेर्न थालेपछि संका लागेर थप खोजतलास गर्दा शव फेला परेको हो ,’ डिएसपी जोशीले भने ।
मृतक चाँदनीकी आमा राजकुमारीकी माइली छोरी हुन् । राजकुमारीका २ छोरा र १ छोरी थिए ।

आइतबार, २० माघ, २०८१, बिहानको १०:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर