कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार हुँदै, शपथ ग्रहणको तयारी

विराटनगर । लामो प्रतिक्षापछि कोशी प्रदेश सरकारमा नेपाली काङ्ग्रेस पनि सहभागी हुने भएको छ । नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आजै बिहान ९ बजेका लागि राखिएको छ ।

काँग्रेस संसदीय दलका नेता उद्दब थापाले सरकारमा अहिले ३ मन्त्री र १ राज्यमन्त्री पठाउन लागेको जानकारी दिए ।

भुपेन्द्र राईको नेतृत्वमा सरकारमा सहभागी हुने नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए । राईलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएको छ । प्रमुख सचेतक तामाङका अनुसार ताप्लेजुङका खगेनसिह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । झापाका भुमी प्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने भएका हुन् ।

मन्त्री बन्न लागेका राई र राज्यमन्त्री राजवन्शी काँग्रेस नेता कृष्णप्रसाद सिटौला समूहका हुन् भने हाङ्गाम र मण्डल संस्थापन समूहका हुन् ।

काँग्रेसले पाउने ४ मध्ये १ मन्त्री र १ राज्यमन्त्री भने डाक्टर शेखर कोईराला समूहलाई दिने तयारी छ । उक्त समूहबाट नाम नदिएको कारण खाली राखेरै मन्त्रीमण्डल विस्तार हुन लागेको हो ।

यसअघि नै एमालेले मुख्यमन्त्रीसहित ५ र काँग्रेसले ४ मन्त्री लिने सहमति भएको थियो । कोशीमा शेखर कोइराला पक्षले अहिलेसम्म नाम नदिएको कांग्रेस नेताहरुले जानकारी दिएका छन्। कोइराला पक्षले कम्तीमा दुइटा मन्त्रालय चाहिने भन्दै अहिलेसम्म नाम नदिएको नेताहरुले बताएका छन्।

एमालेले भने मुख्यमन्त्री सहित सामाजिक विकास, खानेपानी उर्जा तथा सिंचाइ मन्त्रालय, आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा यसअघि नै मन्त्री पठाईसकेको छ ।

असार १७ गते केन्द्रमा एमाले काँग्रेसको गठबन्धन बनेपछि गत साउन ११ गते सरकारमा सहभागी माओवादी केन्द्रमा मन्त्रीहरूले राजीनामा दिएका थिए ।

शुक्रबार, २८ भदौ, २०८१, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर