सातै समितिका सभापति निर्विरोध: आज सपथ

विराटनगर । कोशी प्रदेशसभाका संसदीय समितिको सभापतिमा एकल उम्मेदवारी परेकोले सबै निर्बिरोध भएका छन् ।

प्रदेशसभा सचिवालयले दिएको बिहीबार साँझ ५ बजेसम्मको समयमा ७ समितिमा प्रत्येक समितिमा १ जनाको उम्मेद्वारी परेको छ । उनीहरु निर्वाचित भएको औपचारिक घोषणा भने शुक्रबार मात्र हुनेछ ।

प्रदेशसभाका सचिव गोपाल पराजुलीले दिएको जानकारी अनुसार न्याय प्रशासन तथा विधायन समितिमा एमालेकी कमला दर्नालले उम्मेद्वारी दिएकी छन् । उनको प्रस्तावक रमेशकुमार बस्नेत छन् भने समर्थक भुपेन्द्र राई बसेका छन् ।

यस्तै सार्वजनिक लेखा समितिमा नेकपा माओवादी केन्द्रका राजन किराँतीले उम्मेद्वारी दिएका छन् । किराँतीलाई एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक र एमालेकै छविलाल चुँडालले समर्थन गरेका छन् । सुशासन तथा योजना समितिमा काँग्रेसकी खगेश्वरी पौडेल उम्मेद्वार बनेकी छिन् । उनको उम्मेद्वारीमा हिमाल कार्की प्रस्तावक र मीना श्रेष्ठ समर्थक बनेका छन् ।

यस्तै काँग्रेसका विनोद राई अर्थसमितिको सभापतिको उम्मेद्वार बनेका छन् । उनको प्रस्तावकमा काँग्रेसकै मानबहादुर लिम्बू रहेका छन् भने समर्थकमा एमालेका ज्ञानेन्द्र सुवेदी रहेका छन् ।

उद्योग, पर्यटन वन तथा वातावरण समितिमा एमालेका रामदेव यादवले उम्मेद्वारी दिएका छन् । उनको प्रस्तावकमा जयप्रकाश चौधरी र खगेनसिंह हाङ्गाम समर्थक रहेका छन् । यस्तै प्राकृतिक स्रोत तथा पूर्वाधार समिति सभापतिमा एमालेकै होमबहादुर थापा उम्मेद्वार बनेका छन् । जसमा प्रस्तावक खड्गबहादुर बस्नेत र समर्थकमा लिलाकुमारी राई बसेका छन् ।

सामाजिक विकास समितिमा काँग्रेसका गयानन्द मण्डल गनगाईं उम्मेद्वार बन्दा उनको प्रस्तावक इस्राइल मन्सुर र समर्थकमा तिलचन पाठक रहेका छन् । सत्तारुढ गठबन्धनले एमालेलाई ३ वटा र काँग्रेसलाई ३ वटा समितिको सभापति भागबण्डा गर्दै सार्वजनिक लेखा समितिको सभापति माओवादीलाई दिने सहमति गरेको थियो ।

संसदीय समितिका सभापतिहरु निर्विरोध भएको भएपनि शुक्रबार त्यसको औपचारिक घोषणा हुने र लगत्तै सपथ हुने प्रदेशसभा सचिवालयले जनाएको छ । २०७९ मंसिर ४ गतेको निर्वाचनपछि प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १७ गते बसेको थियो । २०८० कात्तिक २० गते संसदीय समिति सदस्य छानिए पनि सभापतिको निर्वाचन हुन सकेको थिएन ।

बिहिबार, २७ भदौ, २०८१, साँझको ०७:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर