लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा संसदीय समितिका सभापतिको निर्वाचन भदौ २८ गते

कोशी प्रदेशमा संसदीय समितिका सभापतिको निर्वाचन भदौ २८ गते

विराटनगर । कोशी प्रदेशसभाका संसदीय समितिका सभापतिको निर्वाचनको मिति भदौ २८ गतेका लागि तोकिएको छ । प्रदेशसभामा सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकले उक्त निर्णय गरेको हो ।

गत मंसिरमा समिति निर्माण भएपनि समितिको सभापति चयन भने हुनसकेको थिएन । प्रदेशसभाको दोस्रो कार्यकाल सुरू भएको एक वर्षपछि समिति गठन भएको थियो भने झण्डै २१ महिनापछि समितिको सभापति चयन हुन लागेको हो ।

नेकपा एकीकृत समाजवादीले भने दलको सभापति चयनको विषयमा पहिले भागबन्डा टुंगो लगाउनु पर्नेमा जोड दिएको छ । परामर्श समितिको बैठकमा सहभागी सांसद खिनु लङ्वा लिम्बूले केही समय पछि मात्रै सभापतिको निर्वाचन हुनुपर्ने माग गरिन् । जसपाकी एक मात्रै सांसद निर्मला लिम्बूले पनि दलहरूबीच सहमती गरेर मात्रै चुनाव हुनु पर्ने बताएकी थिईन् ।

राप्रपा सांसद सविना बजगाईंले २८ गतेभित्रै चुनाव गर्नुपर्ने बताईन् । उनले समितिको सभापति चयनमा सबै दललाई समेटेर लैजानु पर्ने बताईन् । राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले पनि समिति सभापति चयनको विषय शीघ्र टुंगो लगाउनु पर्ने बताए ।

नेपाली काङ्ग्रेसका दलका उपनेता हिमाल कार्कीले दोस्रो कार्यकालको उर्बर समय वितिसकेको बताउँदै संसदीय काम कारबाही अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले छलफल र सहमतिबाटै सभापति निर्वाचन गर्नेतर्फ लाग्नु पर्ने बताए ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले समय धेरै गुज्रिएको भन्दै २८ गतेसम्ममा यो प्रक्रियालाई टुंग्याउने सभामुखको कुरालाई समर्थन गर्ने बताए । सभापति चयनको मिति तोकेपछि बाँकी समयमा सहमतिको प्रयास गर्नुपर्ने उनले बताए ।

एमालेले सहमतिकै आधारमा सभापति टुंगो लगाउने आफूहरूको चाहना भएको उनले बताए । यद्यपि सहमति गरेर मात्रै चुनावको मिति तोक्ने तिर जाँदा अझै लम्बिने भएकोले त्यस्तो गर्न नहुने उनले बताए ।सभामुख अम्बर बहादुर विष्टले समितिका सदस्यहरूले सभापति चयन गर्ने भएकोले त्यहाँ सरकारमा रहेका दलले उदारताका साथ सहमति गरे राम्रो हुने बताए ।

सभामुख विष्टले संसद अधिवेशन चलेकै अवस्थामै समिति सभापति चयन हुनुपर्नेमा जोड दिए । उनले २८ गते नै निर्वाचन गर्ने बताएका थिए ।त्यस विषयमा असहमति जनाउँदै नेकपा एकीकृत समाजवादीकी सांसद विद्या चाम्लिङले ठूला दलले पेल्न खोजेको बताईन । उनले आफ्नोे दल २८ र २९ गते हुने दलको निर्वाचनमा सहभागी नहुने बताईन् ।

तर, सभामुख विष्टले भदौ २६ गतेको प्रदेशसभामा समितिका सदस्यहरूको नाम पढेर सुनाउने र २८ गते नै निर्वाचन भएर सभापतिको शपथग्रहण पनि सोही दिन हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।