लोड हुँदैछ...

मेनु

प्रतिपक्षी दलको नेताकै सुविधा लिँदै उद्धब थापा

प्रतिपक्षी दलको नेताकै सुविधा लिँदै उद्धब थापा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफूले प्रयोग गर्ने सरकारी गाडी फिर्ता गरेका छैनन् । थापाले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा सवारी साधन लिएका थिए ।

कोशी प्रदेश सरकारमा सहभागी नभए पनि नेपाली कांग्रेसले सत्तापक्षको बेन्चमा बसिकसको छ । उसले सरकारलाई समर्थन पनि दिइसकेको छ । गत भदौ १४ गते हिकमतकुमार कार्की नेतृत्वको सरकारलाई समर्थन दिँदै नेपाली कांग्रेस प्रदेशसभा पनि सत्ता पक्षको बेन्चमा बसिसकेको छ । सोही दिनबाट नेकपा माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विपक्षी बेन्चमा बस्न थालेको थियो ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा प्रमुख प्रतिपक्षी दलका नेता र प्रमुख सचेतकले मात्रै सवारी साधन सुविधा प्रयोग गर्न पाउने व्यवस्था छ । सत्तापक्षका दलका नेताले भने सो ऐन अनुसार गाडी पाउदैनन् । ‘अहिलेसम्म प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा माननीय उद्धव थापाले प्रयोग गर्नुभएको गाडी फिर्ता भएको जानकारी सचिवालयमा आइपुगेको छैन,’ प्रदेशसभाका सूचना अधिकारी निरोज ढकालले बताए । ‘काठमाडौँबाट फर्केपछि फिर्ता गर्छु भन्नुभएको सुनेको छु, फिर्ता गर्नुहोला,’ ढकालले भने । थापाले को १ झ ६६५ नम्बरको गाडी प्रयोग गर्दै आएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले भने गाडी फिर्ता गरिसकेका छन् । प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक र सत्ता पक्षको प्रमुख सचेतकले मात्रै गाडीको सेवा सुविधा पाउने व्यवस्था छ । तर, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिलेसम्म सत्ता पक्षको प्रमुख सचेतक कसैलाई नियुक्त गरेका छैनन् । नेपाली कांग्रेस सरकारमा सहभागी भएपछि त्यस सम्बन्धी निर्णय हुने अनुमान गरिएको छ । सांसद रेवतिरमण भण्डारी अहिलेसम्म एमालेकै प्रमुख सचेतकको हैसियतमा भएपनि सत्तापक्षको सचेतकको रुपमा सवारी साधन प्रयोग गरिरहेका छन् । मुख्यमन्त्री कार्कीले उनैलाई सत्तापक्षको प्रमुख सचेतक बनाउने सम्भावना रहेकाले गाडी फिर्ता नगरेको हुन सक्ने प्रदेशसभाका कर्मचारीहरू बताउँछन् ।

प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक नेकपा माओवादी केन्द्रकी गीता तिम्सिनाले गाडी सुविधा प्रयोग गर्न थालिसकेकी छन् । कांग्रेसका सांसद तामाङले फिर्ता गरेको गाडी तिम्सिनाले प्रयोग गर्न थालेको सूचना अधिकारी ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।