लोड हुँदैछ...

मेनु

हिमालय रोडका व्यापारीद्वारा महानगरको ध्यानाकर्षण, मेला महोत्सव गर्न नदिन दबाब

हिमालय रोडका व्यापारीद्वारा महानगरको ध्यानाकर्षण, मेला महोत्सव गर्न नदिन दबाब

विराटनगर । विराटनगरस्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् ।

मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन उनीहरूले महानगरसित माग गरेका हुन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने उनीहरूको भनाइ छ । ५० जनाभन्दा बढी स्थानीय व्यापारीको हस्ताक्षरसहित उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

‘वर्तमान अवस्थामा बनेको अपूर्ण संरचनाले व्यापार व्यवसायमा पारेको असर यहाँहरूलाई बारम्बार अवगत गराइएकै हो । त्यसमाथि पनि आउँदो असोजमा लगाउने भनिएको खाना मेलाले थप मार पार्ने हुँदा त्यो निर्णयलाई अनेत्र सार्नका लागि जोडदार माग गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।

मञ्जिना मुभिज क्रिएसनले असोज १७ देखि २३ गतेसम्म सडक खाना महोत्सव गर्ने तयारी गरेपछि व्यापारीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले मेलाका लागि अनुमति नदिन महानगरमा दबाब दिइरहेका छन् ।

गत वर्ष पनि मेला नलगाउन आग्रह गरेको स्मरण गर्दै स्थानीय व्यापारी विनोद पोद्दारले भने, ‘अर्को पटकदेखि हिमालय रोडमा मेला नलगाउने भनि दिएको बचन फेरि यसपटक अवज्ञा हुने देखिएपछि हामीले महानगरलाई दबाब दिएका हौं, मेला अन्यत्रै लगाउन हाम्रो सुझाव छ ।’स्थानीय व्यापारी गंगाधर मैनालीले कुनै पनि हालतमा सो स्थानमा मेला गर्न नहुनेमा जोड दिए । ज्ञापनपत्र बुझाउन महानगर पुगेका मैनालीले आक्रोशित हुँदै भने, ‘रोड भनेको हिंड्नका लागि हो । पूरै सडक ढाकेर व्यापार गर्नका लागि होइन ।’

सो रोडमा नयाँ संरचना बनेपछि ६० प्रतिशतले व्यापारसमेत गिरावट आएको उनको भनाइ थियो । हिमालय रोडमा पुस्तक, कम्प्युटर, मोबाइल, होटल, चियानास्ता, किराना, कपडालगायतका करिब ७५ वटा पसल सञ्चालनमा रहेका छन् । मैनालीका अनुसार ती सबै पसलमा ३५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘एक त नयाँ संरचना बनेपछि आवतजावतमा समस्या छ । सवारी साधन एकतर्फी मात्रै प्रवेश गर्न दिइन्छ,’ उनले भने, ‘अर्कोतर्फ मेला लाग्दा आवतजावत पूर्ण रुपमा बन्द हुन्छ । मेला अवधिभर गत वर्ष पनि बिक्री ठप्प भएको थियो ।’
आफूहरूको माग सम्बोधन नगरे आन्दोलनमा उत्रिन पछि नपर्ने ज्ञापनपत्रमा चेतावनी दिइएको छ । गत वर्ष सोही संस्थाले आयोजना गरेको मेलामा सौन्दर्यकरणका क्रममा रोपिएका विरुवा भाँचिएको र त्यसबेला भत्किएका संरचना आयोजकले मर्मत नगरिदिएको स्थानीयले बताएका छन् ।

ज्ञापनपत्र बुझ्दै मेयर नागेश कोइरालाले स्थानीय व्यापारीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए । स्थानीय व्यापारीको समस्याबारे जानकार रहेको बताउँदै मेयर कोइरालाले मागबारे आफू गम्भीर रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।