विराटनगर । माओवादी केन्द्रको केन्द्रीय सदस्य र कोशी प्रदेश पार्टी पदाधिकारीको परामर्श बैठक उदयपुरको बेलकामा आज देखी सुरु भएको छ । बेलका नगरपालिका–८ रामपुरमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक सुरु भएको हो ।
बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहित करिब सय जनाको सहभागिता छ । बैठकको सुरुवातमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई मार्गनिर्देशन मन्तव्य दिएका थिए ।
शान्ति प्रक्रियालाई भाँड्नका लागि दलाल, प्रतिक्रियावादीहरु लागिरहेको बताउँदै प्रचण्डले क्रान्तिकारी र माओवादी धाराहरुबीच एकताबद्ध हुनुपर्ने र नयाँ लडाईको लागि तयार रहनुपर्ने विचार राखेका थिए । सो क्रममा वर्तमान सरकार भ्रष्टाचारीहरुको योजनामा बनेको व्याख्या गर्दै उनले सरकारबाट बाहिरिएपछि माओवादीप्रति सहानुभूति बढेको र सुशासनको अभियानलाई अझै सशक्त बनाएर लानुपर्नेमा जोड दिएका थिए ।
बैठकमा आइतबार ३६ जनाले धारणा राखेका छन् । नेतृत्वको विकल्प खोज्नका लागि विधिको विकास गर्नुपर्ने र विधानको पालना गर्नुपर्ने, जनवादको अभ्यास गरिनुपर्नेमा उनीहरुले जोड दिएको एक सहभागीले बताए । सबैलाई बोल्न ५ मिनेटको समय दिइएको छ ।
सहभागीले प्रचण्डले पार्टीलाई खत्तीबाट निकाल्नुपर्ने भाव व्यक्त गरेका छन् । ‘संगठनात्मक दृष्टिले पार्टी बिग्रियो, भत्कियो, यसलाई संगठननात्मक विधिमा ल्याउनु पर्यो, सिस्टममा ल्याउनु पर्यो’ एक सहभागीले भने, ‘खल्तीमा पार्टी राख्नु भएन ।’
माओवादी पार्टीको नेतृत्वमा आजको आवश्यकता प्रचण्ड नै भएपनि पार्टी र नेतृत्व रुपान्तरण हुनु पर्ने विचार केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीले राखेका छन् । विचारको विकास गर्नुपर्ने, भद्रगोल संगठन व्यवस्थित गर्नुपर्ने, जनतामा फर्कनुपर्ने, एक्लै चुनाव लड्ने तयारी गर्नुपर्ने विषय उठेको छ । पार्टीको उत्ताधिकारी कसैले बनाएर वा हस्तान्तरण गरेर नहुने भन्दै नेताहरुले प्रवेश र अन्त्य प्रत्यक्ष निर्वाचन प्रणालीले आफैं निर्धारण गर्ने धारणा राखेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड भने बैठकमा सुरुदेखि नै नेताहरुको धारणा सुनेर बसेका छन् । बैठकको अन्तिममा अध्यक्षसहितका नेताहरुले उठेका प्रश्न र धारणाहरुको विषयम बोलेर सोमबार बैठक सम्पन्न हुने माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जानकारी दिए ।
बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नीप्रसाद सापकोटा, पम्झा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, शक्तिबहादुर बस्नेतलगायत नेताहरुको सहभागिता छ । माओवादीले केन्द्रीय समितिको बैठकअघि सबै प्रदेशमा परामर्श बैठक गरेको हो ।