इनरुवा । ‘प्रकृतिको कुचीकार’ को रूपमा चिनिएको गिद्धबारे जनचेतना जगाउँदै सुनसरीमा १६ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ ।
कोसी टप्पु लर्लिङ ग्राउन्डको आयोजनामा कोसीटप्पु वन्यजन्तु आरक्ष परिसरमा विद्यार्थी र स्थानीयलाई गिद्ध संरक्षणका बारेमा सचेतना प्रदान गरिएको थियो ।
पछिल्लो समय लोप हुँदै गएको गिद्धको संरक्षणको लागि बिद्यार्थीहरुको माध्यमबाट सचेतना जगाउँदा प्रभावकारी हुने देखिएकाले विभिन्न विद्यालयका बिद्यार्थीहरुलाई भेला गरेर कार्यक्रम गरिएको आयोजक कोसी टप्पु लर्लिङ ग्राउन्डका संयोजक राजकुमार सिंहले बताए । कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मात्रै विभिन्न ७ प्रजातिका गिद्ध पाइने कार्यक्रममा जानकारी दिइयो ।
पछिल्लो समय सिमसार मासिँदै जानु र गिद्ध बस्ने अग्ला सिमल, सखुवा लगायत रुख मासिँदै गएपछि गिद्धको संख्यामा कमी आएको कोश टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए । लोप हुँदै गएको गिद्ध संरक्षणको लागि ध्यान दिनुपर्ने उनको भनाइ छ ।
गिद्ध संरक्षणका कार्यलाई थप प्रभावकारी, सचेतना प्रवाह र आम सरोकारको विषय बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालका साथै संसारभर मनाउने गरिएको छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ ।
यो दिवस दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवसबाट विकसित भई सन् २००९ बाट अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।