दमक । झापा दमकको एक गोठमा बाँधेको गाई चोरी गरेर हत्या गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दमक नगरपालिका–२ घर भएका लछुमन विष्टको दमक–१ स्थित पानी ट्यांकीमा रहेको गोठबाट भदौ १८ गते राति २ वटा गाई चोरी झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
गोठमा बाँधेर राखेको २ महिनाको गर्भिणीसमेत रहेको गाईलाई चोरी गरी हत्यामा संलग्न दमक–२ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प–२ छाप्रो नम्बर ३३२ का ४४ वर्षीय प्रेमबहादुर बिष्ट, दमक–३ शरणार्थी शिविर क्याम्प–३ छाप्रो ए ३–२०८ का ३८ वर्षीय खगेन्द्र दुलाल, शिविर क्याम्प–३ छाप्रो नम्बर ए २–१२० का ३२ वर्षीय विद्यान थापा र दमक–४ की ४५ वर्षीया गीता श्रेष्ठलाई पक्राउ परेका हुन् । पक्राउ परेकाहरुले भदौ १८ गते मंगलबार राति गोठमा बाँधेरको गाई चोरी गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले गोठबाट करिब १ सय मिटर पूर्व खाली जग्गामा गाईको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेपछि खुट्टा करङ तथा घाँटीको मासु काटी लगेर अन्य शरीरको भाग छाडेको अवस्था फेला परेको थियो । गाईको हत्या गरी मासु लैजानेको खोजी गर्ने उनीहरुलाई पक्राउ गरिएको र घटनामा प्रयोग गरेको खुकुरी, बञ्चरो र मासु बोक्न प्रयोग गरिएको झोला उनीहरुको घरबाट बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको आपराधिक पृष्ठभूमि रहेको प्रहरीले जनाएको छ । प्रेम, खगेन्द्र र विधान यसअघि चोरी, डकैती, लुटपाट, जबरजस्ती करणी, केही सार्वजनिक अपराध, पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा पक्राउ परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकमा उनीहरुलाई राखेर घटनाको थप अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।