विराटनगर । सप्तरीको बलानबिहुल गाउँपालिका–२ का ४० वर्षीय उमेश रामको श्रीमती श्यामको निधन भएको तीन दिन भएको छ । उपचार खर्च तिर्न नसक्दा उनले श्रीमतिको शव घर लगेर अन्तिम संस्कार गर्न पनि पाएका छैनन् ।
अस्पतालको उपचार खर्च तिर्न उनले पाए ऋण नभए चन्दा संकलन गर्ने बताएका छन् । उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा ४० वर्षीया रामको मृत्यु भएपछि शव लैजान चन्दा संकलन गर्ने तयारी गरेका हुन् ।
गत ५ चैतमा स १ त ३२८ नम्बरको ट्याक्टरले सप्तरीको बोदेबरसाइन नगरपालिका–१ मा श्यामलाई ठक्कर दिएपछि घाइते भएकी थिइन् । उनलाई उपचारको लागि विराट नर्सिङ होममा परिवारले ल्याएकोमा उपचारको क्रममा ३ वैशाखमा मृत्यु भयो । आर्थिक अवस्था नाजुुक रहेको रामको उपचारमा १२ लाख खर्च भएको उमेशले बताएका छन् ।
हस्पिटलबाहेक फार्मेशीको मात्रै ८ लाखको बिल आएको उनले सुनाए । हस्पिटलको १२ लाख मध्ये साढे चार लाख रुपैयाँ र फार्मेशीको ८ लाखमध्ये तीन लाख रुपैयाँ दिएको बताए । ८ लाख रुपैयाँ दिए मात्रै हस्पिटलले शव घर लैजान दिने बताउँदै आएको उनले बताए ।
‘भएको सम्पत्ती र ऋण खोजेर श्रीमतिको उपचारमा ७ लाख रुपैयाँ बुझाइसके । अब आउने स्रोत पनि केही छैन’ उनले भने, ‘भएको सम्पत्ती पनि बेचेर श्रीमतिको उपचारमा सकियो ।’ अस्पताल र फार्मेशीको सम्पूर्ण भुक्तानी नतिरे शव लैजान नदिने भनेको उनले बताएका छन् । श्रीमतीको अन्तिम संस्कार पनि गर्न नपाएर पछुतो भएको उनको भनाइ छ ।
‘कतै ऋण पाए ल्याएर दिने सहमति कागज गरेर श्रीमतिको शव दिएपनि अन्तिम संस्कार गर्ने थिए,’ उनले भने । सप्तरी प्रहरीले दुर्घटना गराउने चालक श्रवण सदाहीलाई पक्राउ गरेर अनुसन्धान गर्दै आएको छ । उनको पनि आर्थिक अवस्था नाजुक भएकाले अहिलेसम्म उपचार खर्च पनि नदिएको उनले बताए ।
विराट नर्सिङ होमका प्रशासन प्रमुख पदम बिनाडीले अस्पताललमा लागेको खर्च मात्र दिए शव पढाइदिने बताएका छन् । ‘सबै विरामीलाई हामीले निःशुल्क उपचार गर्न सक्दैनौं नि’ उनले भने, ‘त्यसो गरेर कहाँबाट हस्पिटल चल्छ र ?’ उपचारमा छुट दिनसक्ने भएपनि निःशुल्क गर्न नसकिने उनको भनाइ छ ।
उमेश रामले भने श्रीमतिको शव अस्पतालबाट लैजानको लागि सहयोग गरेका छन् । उनले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी श्रीमतिको शव अस्पतालबाट लगेर अन्तिम संस्कार गर्नको लागि सहयोगको आग्रह गरेका हुन् ।
‘आफूसँग भएको सबै पैसा सकियो । अस्पतालले भनेजति पैसा दिन नसक्दा अहिले श्रीमतीको शव लैजान पाएको छुइन्,’ उनले भने, ‘श्रीमतिको शव घरमा लगेर आफ्नो संस्कार अनुसार अन्तिम संस्कार गर्नको लागि सरोकारवाला निकाय, समाजसेवीदेखि सम्पूर्णमा आग्रह गर्दछु । ’