हिंसा भड्काउने अभिव्यक्ति दिने विवादित धर्मगुरु श्रीनिवास प्रहरी नियन्त्रणमा

विराटनगर । धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै धार्मिक हिंसा भड्काउँने अभिव्यक्ति दिने धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज साँझ धर्मगुरु श्रीनिवासलाई सुनसरीको बराहक्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

श्रीनिवासले केही दिन अगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउँने अभिव्यक्ति दिएका थिए । हिन्दुको बिरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै उनले त्यसको जिम्मेवारी लिने आपत्तीजनक अभिव्यक्ति दिएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।

उनले गौहत्या गर्नेहरुलाई हत्या गर्न आव्हान गर्दै चर्को भाषण गरेका थिए । गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उनको अभिव्यक्ति थियो । उनले हातमा खुकुरी बोकेर भनेका थिए, ‘गौहत्या गर्नेलाई हत्या गरेर कोही आउँछ भने उसको म सम्पूर्ण सुरक्षा गर्नेछु । राज्यले अपराधी करार गरेर समातेको खण्डमा म उसको सबै परिवारको पालन पोषण गर्छु ।’ आचार्यको उक्त अभिव्यक्ति सामाजिक संजालमा भाइरल भएको छ ।

श्रीनिवासको सोही अभिव्यक्तिलाई लिएर प्रहरीले सोधपुछ गर्नुपर्ने भन्दै उनलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले जानकारी दिए । ‘केही कुरा बझनुनर्पे भएकोले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थितको लागि बोलाइएको हो,’ उनले भने, ‘थप अनुसन्धानपछि मात्र अरु विषयमा भन्न सकिन्छ । अहिलेलाई मैले यति नै भने । प्रहरी स्रोतका अनुसार उनलाई आज सुनसरीमा राखेर भोलि धनुषा पठाइनेछ ।

श्रीनिवासले नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्दै आपत्तीजनक अभिव्यक्ति दिँदै त्यस्तै गतिबिधि गर्दै आएका छन् । उनी केहि वर्ष अगाडि आफैंलाई गोली हानेको आरोपमा विराटनगरबाट पक्राउ परेका थिए । हिन्दुहरुलाई भड्काएर हिन्दुराष्ट्रको लागि आन्दोलनमा सहभागी गराउन २०७४ चैतमा आफैंमाथि गोली हानेका उनले आफूमाथि हिन्दुविरोधीबाट आक्रमण भएको प्रचार गरेका थिए ।

तर, प्रहरीले अनुसन्धान गर्दा उनले आफैं बन्दुक किनेर सहयोगीलाई आफ्नो पाखुरामा गोली हान्न लगाएको पुष्टि भएको थियो । २०७५ बैशाख २४ मा आफैलाई गोली प्रहार गर्ने योजना बनाएको आरोपमा श्रीनिवास पक्राउ परेका थिए । घटना उनकै योजनामा भएको पनि प्रहरीले खुलासा गरेको थियो । उनलाई उनकै सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीले गोली हानेका थिए । सो मुद्दामा जेल चलान भएका श्रीनिवास पछि धरौटीमा छुटेका थिए ।

श्रीनिवासलाई हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइएको थियो । आफैंमाथि गोली हान्न लगाएको आरोपमा श्रीनिवासलाई मोरङका तत्कालिन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन, २०१९ को दफा २४ (क) बमोजिम पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले पुर्पुक्षको लागि थुनामा पठाएपछि उनले अदालतमा पुनरावेदन गरेका थिए । जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी सुनसरीको झुम्का कारागारबाट २० दिनमा रिहा भएका थिए ।

केहि समय अगाडि सुनसरीको धरानमा चलेको जातीय तथा धार्मिक विवादलाई पनि भड्काउन श्रीनिवासले प्रयास गरेका थिए । धरानमा चर्च र मन्दिरको विवादमा उनले चर्च भत्काउने धम्की दिएका थिए । उनले हिन्दुमाथि अपमान भए बाबरी मस्जिदको घटना दोहोरिने चेतावनी दिएका थिए । धरानका मेयर हर्क साम्पाङ ख्रिष्टियन भएको भन्दै उनले धरानमा धर्मयुद्ध हुने धम्की दिएका थिए ।

श्रीनिवाससहित अतिवादीहरुको कारण धरानमा जातीय तथा धार्मिक हिंसाको जोखिम बढेको थियो । त्यसलाई केहि जनजातिले गोरु काटेर खाएको भिडियो सार्वजनिक गरेपछि मलजल भएको थियो । अन्तिममा प्रशासनले निषेधाज्ञा लगाएर जोखिम हटाएको थियो भने सद्भावको लागि धरानका राजनीतिक दलहरु र नागरिक अगुवाले भूमिका खेलेका थिए ।

मङ्गलबार, १६ असोज, २०८०, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर