राजवंशीको घरमा पुग्दा केराको पातमा प्रचण्डलाई खाना

विराटनगर । झापाको गौरिगञ्जमा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केराको पातमा भात खाएका छन् ।

गौरिगञ्ज–१ का माओवादी कार्यकर्तासमेत रहेका तिलक राजवंशीको घरमा प्रचण्डसहितका नेताहरूले कोच संस्कृति अनुसार भात खाएका हु्न् ।

राजवंशीका अनुसार प्रचण्डले कोच राजवंशीको परम्परागत परिकार खाएका हुन् । जसमा उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चट्नी र पापडलाई कोलाको पातमा दिइएको हो ।

आफूले प्रचण्डलाई कोच संस्कृति अनुसारको खाना खुवाउन पाउँदा खुसी लागेको राजवंशीले बताए । ‘उहाँले मलाई कोच जातिसहित उत्पीडितहरुको लागि लडिरहेको छु भन्दै कोच जातिको घरमा भात खान पाउँदा खुसी लागेको बताउनु भयो,’ राजवंशीले भने, ‘मैले पनि तपाईलाई सौभाग्यले खाना खुवाउन पाएँ भने ।’

प्रचण्डले दुईतिर खप्ट्याएर राखेको केराको पातमा भात खाएका थिए ।प्रचण्डसहितको टोलीमा जसमा वाइसिएल र सुरक्षाकर्मी पनि रहेको राजवंशीले बताए । प्रचण्डको टोलीमा पार्टीका कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल, सह–इन्चार्ज सावित्रीकुमार काफ्ले, माओवादी संसदीय दलका कोशी प्रदेश नेता इन्द्रबहादुर आङ्बो, माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो, केन्द्रीय सदस्यहरु धर्मशिला चापागाईं, झलकसिंह दर्लामी, उनकी छोरी गंगा दाहाल, ज्वाई जीवन आचार्य, लगायतका नेताहरु सहभागी थिए ।

गौरिगञ्जमा आयोजित खबरदारी सभामा राप्रपा, एमालेलगायतको पार्टीबाट सयौं माओवादीमा प्रवेश गर्ने कार्यक्रम रहेको झापा माओवादी केन्द्रका संयोजक राजु आचार्य अग्निले जानकारी दिए ।

सोमबार, १५ पुष, २०८१, दिउँसोको ०१:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर