प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्ति र कामको विषयलाई लिएर पछिल्लो समय प्रतिपक्षी, बौद्धिक क्षेत्र र सामाजिक सञ्जाला प्रयोगकर्ताले चर्को आलोचना गरिरहेका छन् । काँग्रेस र एमाले मिलेर बनेको गठबन्धन सरकारका प्रधानमन्त्री ओली आफैंले पनि विभिन्न सार्वजनिक कार्यक्रमहरुमा विरोधको सामना गर्नु परिरहेको छ । ओलीले भने आफ्ना आलोचकलाई तह लगाउने प्रयास गरिरहेका छन् । आलोचकलाई रुखो जवाफ दिने, सामाजिक सञ्जालमा आलोचना गर्नेलाई पक्राउ गर्ने र पार्टीभित्र आफ्नो आलोचना गर्नेलाई कार्वाही गर्ने कदम उनले चालिहरको छन् । एमाले नेताहरु भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथि गरिएको कार्वाही त्यसको उत्कर्ष हो । पछिल्लो समयमा एमालेमा ओलीको कदमबारे कसैले प्रश्न नउठाउने गरेकोमा अहिले आलोचक बढिरहेका छन् । उदयपुरका एमाले नेता विमल कार्कीले पनि ओलीको कार्यशैलीको आलोचना गर्दै आएका छन् । कोशी प्रदेशसभाका पूर्व सांसद कार्की अध्ययनशिल नेता र स्पष्ट वक्ताको रुपममा स्थापित छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गा दान लिएको विषयदेखि केपी शर्मा ओलीको नाममा सार्वजनिक भएको नागरिकतामा उल्लेखित नामको विषयमा पनि कार्कीले प्रश्न उठाएका छन् । नेतृत्वको आलोचना गरेको भन्दै उनलाई एमालेको प्रदेश कमिटिले स्पष्टिकरण सोधेको छ । तर, उनले आलोचना रोकेका छैनन् । नेतृत्वको खरो आलोचक कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंशः
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर सामाजिक सञ्जालमा लेखेपछि तपाईलाई स्पष्टीकरण सोधिएको भन्ने छ । खास कुरा के हो ?
– जे गलत हो, गलतलाई त गलत नै भन्नु पर्यो नि होइन र ? गलत लागेको कुराहरुलाई लेखेको हो । मैले खास गरी दुईवटा कुरा लेखेको हो । एउटा कुरा मिनबहादुर गुरुङसँग जग्गा दान लिएको विषयमा लेखेको हो । त्यो के हो भने एक वर्षअगाडिदेखि नै हरेक पार्टी सदस्य, शुभचिन्तक र समर्थकहरुसँग चन्दा उठाएर पार्टी भवनकै नाममा चन्दा उठाइरहेको छ । गच्छे अनुसार मानिसहरुले चन्दा बुझाएका पनि छन् । त्यहाँ ठूलो धनराशी संकलन भएको छ । त्यसका बाबजुत एकाएक कतिपय स्थायी समिति सदस्य, पदाधिकारीलाई पनि थाहा नभइकन एकैपटक मिनबहादुर गुरुङसँग गएर मिनभवन शिलान्याश गरियो । कुनै पनि खाले अपारदर्शी ढंगको चन्दा लिनु हुँदैन । हामीले पार्टी भवन बनाउनका लागि अगाडिदेखि नै पैसा संकलन गरिरहेका थियौं । पार्टीकै सामथ्यमा चन्दा उठाइरहेका थियौं भने एकाएक अपारदर्शी काम गरियो । त्यसको विरोधमा भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाहरुले असहमति व्यक्त गर्नुभएको थियो । उहाँहरुलाई स्पष्टीकरण सोधियो । त्यो स्पष्टीकरण सोध्नु गलत भयो । उहाँहरुले बोलेको कुरा सही हो भनेर मैले लेखेको हुँ ।
अर्को स्टाटस भनेको कम्बोडियामा पैसा लगेको विषयमा सम्माननीय प्रधानमन्त्री पार्टी अध्यक्षको विषयमा एउटा नागरिकता बाहिर आयो । त्यहाँ केपी शर्मा ओली भन्ने आयो । हामी सबैलाई के थाहा थियो भने २०४८ सालदेखि चुनाव लड्नु भयो खड्ग ओली कमरेड, २०५१ मा चुनाव लड्नुभयो गृहमन्त्री बन्नुभयो । २०५६ मा फेरि माननीय हुनुभयो, परराष्ट्रमन्त्री बन्नुभयो । ती सबै प्रक्रियामा अफिसियल नाम खड्गप्रसाद ओली नै छ । अहिलेको प्रधानमन्त्री पनि खड्गप्रसाद ओली नै हो भन्ने बुझेका थियौं । तर, अहिले त केपी शर्मा ओली बन्नुभएछ । नेताले छद्म नाम किन राख्नु पर्यो ? नाम परिवर्तन गर्नुको औचित्य के हो ? त्यो राष्ट्रलाई, जनतालाई पार्टीलाई जानकारी दिनुपर्छ । उहाँले त्यो जानकारी दिनुभएन । के औचित्यको आधारमा नाम परिवर्तन गर्नुभयो त ? बोलाउने र चिनिने नाम त विभिन्न हुन्छ । तर, अफिसियल नाम त एउटा हुन्छ नि ।
दुनियाँले प्रचण्ड भनेर चिनेका थिए । तर, अफिसियल नाम त पुष्पकमल दाहाल रहेछ । उहाँले औपचारिक नाम त्यहि प्रयोग गर्नुभयो भने हाम्रो खड्गप्रसाद ओलीले चाहिँ किन केपी शर्मा ओली बन्नु पर्यो ? छद्म नाम कि त दुई नम्बर धन्दा गर्नेले गर्छ । कि त क्रिमिनल व्याग्राउण्डको मान्छेले प्रयोग गर्छ । तपाई हामी जस्तो सार्वजनिक जीवन विताउनेले त्यस्तो नाम प्रयोग गर्दैन । त्यसकारण मैले यो के हो भनेर स्टाटस लेखेको हो ।
अध्यक्षको विरुद्धमा बोल्दा र लेख्दा कार्वाही हुन्छ भन्ने जानकारी होला । तर, किन बोलिरहनु भएको छ ?
– म २०४६ सालमा एसएलसी दिएको र त्यतिखेर पनि पञ्चायतको विरुद्धमा लड्दा पुलिस कष्टडीमा परेको मान्छे हुँ । मलाई त्यतिखेर पनि थाहा थियो, पञ्चायतको विरुद्धमा बोल्दा यातना दिन्छ, मार्छ, जेल हाल्छ भन्ने । तर, लडियो । त्यसपछि पार्टीमा पनि धेरै उतारचढाव, घुम्ती मोडहरु आए । दुई लाइन संघर्षहरु भए । दुई गुट भए । त्यतिखेर पनि बोलेकै हो, आफूलाई चित्त नबुझेको कुरा । अहिले पनि हुन्छ भन्ने कुरा थाहा छ । तर, राजनीति भनेको डराएर गर्ने चिज होइन । हामी पञ्चायतविरोधी मुभमेन्टबाट दिक्षित भएका मान्छे हो । एउटा लोकतान्त्रिक पार्टीको सदस्य र कार्यकर्ता हौं । अलिअलि यस्तो पर्छ । तर, पर्छ भन्दैमा गल्ती गरेको कुरालाई गल्ती भन्ने कुरामा हिच्किचाउनु हुँदैन ।
अहिले एमालेलाई चौतर्फी प्रहार भइरहेको कुरा पनि नेताहरुले भनिरहेका छन् । त्यहिबेला अध्यक्षमाथि तपाईहरुले नै प्रहार गर्दा एमाले कमजोर होला नि त ?
– प्रहार किन भयो त ? आन्तरिक रुपमा केही नभइ बाह्य रुपमा मात्रै त हुँदैन नि । एमालेमा अहिले प्रहार भएको एउटै कारण भनेको केपी ओलीको कर्म र उनको अभिव्यक्तिको कारण हो । त्यो प्रहार एमालेमाथिको प्रहार होइन, केपी ओलीमाथिको प्रहार हो । किन हो भने केपी ओलीले बालेन शाहसँग किन खुर्चुक–खुर्चक निहुँ खोज्नु पर्यो ? दोस्रो कुरा रवि लामिछानेलाई हिजो कान्छो छोरो जस्तो पुलपुल्याउन किन जरुरी थियो ? हाम्रा नानी किन भन्नुपथ्र्यो । अहिले आएर त्यस्तो गर्न फेरि किन जरुरी थियो ? हिजो चरेशको थालमा दुर्गा प्रसाईले दिएको भात किन खानुपथ्र्यो ? आज त्यही दुर्गा प्रसाई नै उछितो काडेर हिँडिरहेको छ । त्यो एमालेले गरेको कि केपी ओलीले गरेको हो ? त्यसकारण आज भइरहेको आलोचना केपी ओलीको कर्मको कारणले र उनका अभिव्यक्तिको कारणले हो । यो उनको व्यक्तिगत कुरा हो । आन्तरिक रुपमा पनि र बाह्य रुपमा पनि । त्यो आक्रमण पार्टी माथिको आक्रमण होइन भन्छु ।
पूर्वराष्ट्रपछि विद्या भण्डारी सक्रिय राजनीतिमा आउने त्रास ओलीलाई छ भन्ने छ । ओलीको आलोचना गर्नेलाई उनकै निकट बताइन्छ । त्यस्तै हो ?
– विगतमा म प्रदेशसभाको सांसद हुँदा एमालेकै शेरधन राई नेतृत्वको सरकार थियो । त्यसबेला प्रदेशमा तीनवटा जिल्ला मात्रै रहेछन्, अरु जिल्ला रहेनछन् भन्ने मान्छे हुँ । म चित्त नबुझेको कुरा बोल्छु । किनकी पार्टी लोकतान्त्रिक हुनुपर्छ । गलतलाई गलत र सहीलाई सही भन्न सक्नुपर्छ । आज मैले गलत भनेको मान्छेले भोलि सही गर्यो भने बिना हिच्किचाहट सही पनि भन्न सक्नुपर्छ । अहिले भीम रावल, बिन्दा पाण्डे वा विद्या भण्डारीसँग जोड्ने कुरा गलत हो । म एक्लै हिँडेको हो । मलाई चित्त बुझेन मैले बोलें । अरुले पनि बोल्न सक्छन् । एमालेमा सबै मान्छे हामीजस्तो बोल्नसक्ने मात्रै पनि हुँदा रहेछन् । थुप्रै कमरेडहरु उकुसमुकुस भएर बस्नु भएको छ । एक दिन त्यो पनि विष्फोट होला भन्ने मलाई लाग्छ ।
विद्या भण्डारीको हकमा मेरो फरक मत छ । त्यो के हो भने पहिलो कुरा उहाँ राष्ट्रपति भइसक्नु भएको मान्छे हो । त्यो मान्छे फर्केर सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने समाजमा व्याप्त मनोविज्ञान छ । त्यसले पनि उहाँलाई पार्टी राजनीतिमा आउन योग्य रहेपनि आलोचना बढ्छ । पार्टीलाई थेग्नका लागि त्यो आलोचनालाई थेग्न सक्नुहुन्छ जस्तो लाग्दैन । त्यसकारण उहाँ राजनीतिमा पुनरागमन हुनुपर्छ भन्ने लाग्दैन । दोस्रो कुरा केपी ओलीले, विद्या भण्डारीले देशलाई, पार्टीलाई गर्नुपर्ने योगदान गरिसक्नु भयो । अब योभन्दा बढी गर्न सक्नुहुँदैन । अब एउटै कुरालाई दाहोर्याउने भन्दा नयाँ फेसलाई आउन दिनुपर्छ । प्रतिस्पर्धाको आधारबाट जसले आफ्नो सोच, कार्यक्रम र नीति कार्यकर्ताको बीचमा राख्नसक्नेलाई र कार्यकर्ताले पत्याउनेलाई नेतृत्वको जिम्मेवारी दिनुपर्छ । अब व्यक्ति हस्तान्तरमात्रै होइन पिँडी पनि हस्तान्तरण हुनुपर्छ । एउटै गोलचक्करमा फस्ने कुरा त्यति राम्रो होला जस्तो लाग्दैन । म चाहिँ नयाँ जेनेरेसनबाट नयाँ नेतृत्व आउनु पर्छ भन्ने मलाई लाग्छ ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले अबको महाधिवेशनबाट पनि ओली नै सर्वसम्मत अध्यक्ष बन्ने घोषणा गरिसकेको बेला नेतृत्व परिवर्तन कसरी संभव छ ?
– यो उहाँको विचार हो । मेरो विचार भनेको नेकपा एमालेले अघिल्लो महाधिवेशनमा दुईवटा नीति पास गरेको छ । त्यसलाई विचारमा लिपिबद्ध पनि गरेको छ । पहिलो कुरा ७० वर्षे उमेर हदको कुरा गरेको छ । ७० वर्ष उमेर काटेका नेताहरु अटोमेटिक रिङ आउट हुनुहुन्छ । केपी ओली शर्मा पनि ७३ वर्ष पुगिसक्नु भयो । उहाँको रिटायरमेन्टमा पठाउने विधानको व्यवस्था हो ।
त्यो विधान त संशोधन भयो भन्ने छ नि ?
– विधान संशोधन भएको छैन । केन्द्रीय समितिले त्यसलाई स्थगन गरेको भन्छ । तर, त्यो मिल्छ मिल्दैन भन्ने बहसको विषय हो । तर, विधान संशोधन भएको छैन । विधान संशोधन गर्ने भनेको महाधिवेशन, विधान महाधिवेशन वा विशेष महाधिवेशनले गर्ने हो । अहिलेसम्म त्यो भएको छैन । दोस्रो कुरा भनेको एमालेको विधानले के भनेको छ भने कोही पनि व्यक्ति सरासर दुई कार्यकाल मात्रै अध्यक्ष हुन पाउँछ भनेको छ । तेस्रो कार्यकाल हुन पाउँदैन भनेर विधानले नै रोकेको छ । यो हुँदाहुँदै पनि वैधानिक व्यवस्थालाई इन्कार गरेर फेरि अर्को महाधिवेशनमा आएर त्यसलाई संशोधन गर्ने कुरा झेली कुरा हो । राजनीतिक कुरा होइन । यो कुराले गर्दा केपी ओली फेरि अर्को कार्यकालको लागि ११ औं महाधिवेशनको अध्यक्षको प्रत्यासी होइन । यो मेरो माग हो ।
काँग्रेस र एमालेको गठबन्धन बनेर सरकारमाथि आलोचना बढिरहेको छ । सरकार भने एकपछि अर्को संयन्त्र गठन गरिरहेको छ । यो समग्र विषयलाई तपाई कसरी हेर्नुहुन्छ ?
– पहिलो कुरा लोकतान्त्रिक संस्कारविरुद्ध देशका दुई ठूला पार्टीहरु जो वैचारिक, सैद्धान्तिक रुपमा फरक धरातलमा छन्, एउटाले सरकार बनाउँदा अर्को प्रतिपक्षमा र अर्को प्रतिपक्षमा बस्दा राम्रो हुने हो । स्थापित परम्परालाई पुरै विस्थापित गरेर यो अनैतिक ढंगको सरकार बनाउने कुरा नै गलत थियो । बनाइसकेपछि जे सिद्धान्तलाई टेकेर बनाइएको थियो त्यसमा काम गर्नुपथ्र्यो । अहिलेसम्म त्यसको निम्ति पहल नै भएको छैन । जे भएको छ, गफ मात्रै भएको छ । त्यो विषयमा त परिभाषित ढंगले काम अगाडि बढेकै छैन । त्यसकारण आलोचना बढेको हो । संविधान संशोधन, अर्थतन्त्रमा सुधारलगायत कुरामा काम गर्ने भनेको थियो । तर, खै काम भयो ? अर्थतन्त्र सुधार र संविधान संशोधनका लागि दुई ठूला दल मिलेको कुरा भएको थियो । तर, अर्थतन्त्र सुधारमा के पहल भयो ? के कार्यक्रम ल्याइयो ? संविधान संशोधनको के पहल भयो ? केही भएको छैन ।
अर्को कुरा संयन्त्र बनाउने भन्ने कुरा संविधान र कानूनले चिन्दैन । त्यस्तो संयन्त्रले काम गर्ने कुरा आफैंमा कति लोकतान्त्रिक हो ? त्यसकारण दुई तिहाइको सरकार भनेको त संसदमा सांसद हुनुहुन्छ । मन्त्रीहरु हुनुहुन्छ । बैधानिक हिसावले कानूनले, संविधानले चिनेका पात्रहरु राखेर संविधान संशोधनको लागि अगाडि बढाउँदा हुन्छ नि । संविधानले नचिनेका पात्रहरु राखेर संयन्त्र बनाउनु भनेको अलोकतान्त्रि हो । त्यसकारण उहाँहरुको कर्मको कारण उहाँहरुमाथि आलोचना भइरहेको छ । वैचारिक आलोचना बढिरहेको छ । उहाँहरुले कर्म राम्रो गरे आक्रमण र आलोचना घट्ला ।