काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव ठगीमा संलग्न भएकोबारे जानकारी नरहेको भनेकोबारे राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आपत्ति जनाएका छन् ।
सहकारी ठगीमा संलग्न श्रीमती अञ्जला कोइराला र एमबीबीएसमा नाम निकालिदिने भन्दै एक व्यक्तिलाई ३८ लाख ८० हजार ठगी गर्ने स्वकीय अनिलकुमार पोखरेलका क्रियाकलापबारे आफूलाई थाहा नभएको जस्तो व्यवहार लेखा समिति सभापतिबाट प्रदर्शन भएकोमा खतिवडाले आपत्ति जनाएका हुन् ।
शनिबार कान्तिपुरसँग कुरा गर्दै राज्यव्यवस्था समितिका सभापति खतिवडाले भने, ‘श्रीमतीको कुरा पनि थाहा नहुने, पीएको कुरा पनि थाहा नहुने हो भने माननीय सभापतिलाई कसको कुरा थाहा हुन्छ र? सबैभन्दा नजिक त श्रीमती, पीए, आमाबाबु नै हुने होलान् नि !?
एमबीबीएसको प्रवेश परीक्षामा छोरीलाई उत्तीर्ण गराइदिने र होस्टलमा राख्ने वातावरण बनाइदिने आश्वासन दिएर सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलले सप्तरीका बौआलाल चौधरीबाट २०७१ देखि ०७३ का बीचमा पटकपटक गरेर ३८ लाख ८० हजार लिएको आरोप छ ।
एमबीबीएसमा नाम ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्क्याएको बौआलालले बताएका छन् । यस विषयमा उनले प्रहरीमा जाहेरी दिँदा दर्ता भएन, जाहेरी दर्ताका लागि जिल्ला सरकारी वकिल कार्यालयबाट पनि सहयोग भएन । त्यसपछि जाहेरी दर्ताको आदेश माग्दै बौआलाल उच्च अदालत विराटनगर पुगेका थिए ।
उच्च अदालतले पुस ११ मा परमादेश दिएपछि मात्र ठगी आरोप सार्वजनिक भएको हो । सभापति ऋषिकेश पोखरेलले भने संसद् सचिवालयलाई पत्र लेखेर अनिल ठगीमा संलग्न भएको भन्ने समाचार सार्वजनिक भएपछि थाहा पाएको लेखेका थिए । सत्ता र शक्तिको दबाबमा प्रहरी र सरकारी वकिलको कार्यालय मोरङले संरक्षण गर्दै आएका थिए, तर उच्च अदालतले अनिलविरुद्ध जाहेरी दर्ता गर्न आदेश दिएको छ ।
राज्यव्यवस्था समिति सभापति खतिवडाले लेखा समिति सभापति पोखरेललाई सोधेका छन्, ुमिडियाले लेखेपछि मात्रै थाहा पाएको हो त माननीयज्यूले रु
लेखा समिति सभापति पोखरेललाई नैतिकताको प्रदर्शन गर्न पनि सभापति खतिवडाले सुझाएका छन् । ‘कतिपय कुरामा आफूले नैतिकता पनि प्रदर्शन गर्नुपर्छ । राजनीतिमा खडेरी परेको बेला जनताबाट निर्वाचित प्रतिनिधिले केही विषयमा आफूले त्यग गर्न पनि पर्छ,’ खतिवडाले पोखरेललाई सुझाए, ‘राजनीतिमा चरित्रहत्या भएको कसैलाई पनि चित्त बुझ्दैन । आफूले पनि सजग हुनुपर्छ । उहाँप्रति सधै सद्भाव छ तर राजनीतिमा प्रश्न उठेपछि नैतिकता प्रदर्शन गर्नुपर्छ ।
खतिवडाले सार्वजनिक लेखा समितिको सभापतिबाट एमालेका सांसद ऋषिकेश पोखरेलले राजीनामा गर्नुपर्ने घुमाउरो भाषामा भनेका छन् । सरकारको नेतृत्व गरिरहेको दलको सांसद र श्रीमती र स्वकीय सचिवबारे नै कानुनी रूपमा प्रश्न उठेको अवस्थामा ऋषिकेश पदमा बसिरहन नहुने खतिवडाको भनाइ छ । ऋषिकेशकी श्रीमती अञ्जला कोइराला उमा–गौरी सहकारी ठगीमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएयता फरार छिन् ।
विगतमा कांग्रेस र माओवादीको सरकार हुँदा राज्यव्यवस्था समिति सभापति बनेको र उक्त गठबन्धन भत्किएपछि आफूलाई राजीनामा दिन चाहेको खतिवडाले स्मरण गरे । पार्टी प्रतिपक्षमा गएपछि सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताहरूलाई राज्यव्यवस्था समिति सभापतिबाट राजीनामा गर्न चाहेको कुरा सुनाएको तर नेताहरूले नगर्न भनेको खतिवडाले बताए ।
‘म आफैंले कांग्रेस-माओवादी गठबन्धन तोडिएपछि पार्टीका सभापति, उपसभापति, महामन्त्रीलाई भनेको थिए राजीनामा दिन्छु भनेर । उहाँहरूले अहिले नदिन भन्नुभयो । अहिले लेखा समिति सभापतिले के गर्ने आफै बुझ्नुहुन्छ ।
इकान्तिपुरबाट