काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सांसद विकास कोष खारेजीको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता गरेको छ ।
रास्वपाको बिहीबार बसेको संसदीय दलको बैठकले सङ्कल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।
कोषको लागि विनियोजन भएको बजेट तत्काल अन्य आवश्यक विकास निर्माणका कार्यमा परिचालन गर्नुपर्ने पार्टीको माग छ ।
हालै अर्थमन्त्री डा। प्रकाश शरण महतले ल्याएको बजेटमा संसद् विकास कोषलाई ब्युँताएर प्रतिसांसद ५ करोड रुपैयाँ बजेट छुट्टाएका छन् ।
यसका लागि कुल ८ अर्ब २५ करोड रकम विनियोजन गरिएको छ । सरकारले असहज आर्थिक परिस्थितिमा विवादित कार्यक्रम ब्युँताएर जनतामा आर्थिक भार थपेको भन्दै रास्वपाले विरोध जनाएको हो ।