पछिल्लो समयमा वित्तीय संस्थाहरुमा आएको समस्या लगातारजसो सार्वजनिक भइरहेका छन् । लघुवित्तको ऋणको पासोमा सर्वसाधारण परेको प्रसंग होस् अथवा सहकारीहरुले सर्वसाधारणको रकम जोखिममा पारेको घटना नै किन नहोस्, यी सबै खबरहरु अत्यासलाग्दा छन् । लघुवित्त निश्चित नाफाका लागि ज्यादै धेरै ब्याजदर सर्वसाधारणमाथि लादेर बद्नाम छन् । तिनको शैली यति क्रुर छ कि ऋणीहरुलाई बरु आत्महत्या गर्नु तर किस्ता चाहिँ तिर्नुसम्म भनिरहेका छन् । मोरङको कानेपोखरीमा एकै व्यक्तिलाई एक दर्जनभन्दा बढी लघुवित्तले ऋण लगानी गरेर अहिले मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको पाइएको छ । लघुवित्तहरुको यो नाफाको खेल चलिरहेका बेला सहकारीहरुसमेत त्यही कोटीमा उभिन पुग्नु ज्यादै दुःखद् छ ।
सहकारी भनेको समुदायको सहकार्यमा चल्ने संस्था हो । आफूसँग भएको थोरै–थोरै पैसा नियमित बचत गर्ने, जम्मा भएको पैसा उत्पादनमुलक काम र उद्देश्यका लागि लगानी गर्ने यसको मुख्य लक्ष्य हो । आफ्ना सदस्यहरुलाई उद्यमशील बनाउने, त्यसका लागि वातावरण बनाउने काम सहकारीको हो । हरेक सदस्य उत्तिकै जिम्मेवार हुने र उसको सहभागिता समान हुने भएकै कारण नेपालको अर्थतन्त्रको तीनमध्ये सहकारी एउटा दरिलो खम्बा मानिन्छ । साहुकारितामा रमाएका बैंकहरुको दाँजोमा सहकारीले ज्यादै न्यून आर्थिक अवस्थाका सर्वसाधारणलाई बलियो भरथेग गर्दै आएका छन् । तर, सहकारी क्षेत्रमा पनि पछिल्लो समय विकृति ह्वात्तै बढेको छ । सहकारीको मूल्य मान्यताभन्दा बिल्कुल बाहिर गएर गरिने गतिविधिकै कारण सहकारीहरु डुब्ने अवस्थामा पुगेका छन् ।
निश्चय नै सबै सहकारी एकैखाले छैनन् । प्रदेश १ मै पनि प्रदेश सरकार मातहत दर्ता भएका १०६५ सहकारी छन् । सरकारी दाबी मान्ने हो भने तीमध्ये आधा दर्जनजति सहकारी समस्याग्रस्त बनेका छन् । धेरैमा थोरै बिग्रनु स्वाभाविक हो भन्ने भाष्य एकातिर होला । तर, तिनै सहकारीमा जिन्दगीभरीको कमाई फसाएका सर्वसाधारणका लागि ती सहकारी सबैथोक हुन् किनभने उनीहरुको भएभरको कमाई, जग्गा धितो सबै त्यही सहकारीमा हुन्छ । यतिधेरैमध्ये यी सहकारी किन समस्याग्रस्त बने ? यसको मुख्य कारणहरुको खोजी जरुरी छ । तर, एउटा सत्य चाहिँ के हो भने जुन–जुन सहकारीहरु यतिबेला समस्याग्रस्त अवस्थामा छन्, तिनले सहकारीका मूल्य मान्यता पालना गर्ने अनुशासन नदेखाएकैले यस्तो अवस्था आएको हो ।
अहिले धेरै सहकारीहरु जग्गा व्यापारमा जोडिएका छन् । सन्चालकहरुको मनोमानी उस्तै छ । सदस्यको पैसा जग्गामा, घरमा र अनुत्पादक क्षेत्रमा फसाउने, सन्चालकहरुले आफूखुसी खर्च गर्ने, पैसा चलाउने जस्ता गतिविधिले समस्या सिर्जना गरेको छ । यसमा अनुशासनहीन सहकारी सन्चालकहरु निश्चय नै दोषी छन् । तर, उनीहरुलाई नियमन र अनुगमनको जिम्मा पाएका सरकारी निकायहरुको नालायकी पनि मुख्य रुपमा जिम्मेवार छ । सहकारीहरु उत्पादनमा जोडिनेभन्दा नाफाघाटामा रमाउने अवस्था विद्यमान छ । न उनीहरुको नियमन हुन्छ न अनुगमन नै । जब सर्वसाधारणको रकम जोखिममा पर्छ त्यसबेला मात्रै नियमनकारीहरु सक्रिय हुन्छन् । यसबाहेक सदस्य स्वयम् पनि जागरुक बन्नुपर्छ । आफ्नो पैसा कहाँ लगानी भइरहेको छ ? कति सुरक्षित छ आफ्नो बचत भन्नेबारे सदस्यले नियमित खबरदारी गर्नुपर्छ ।
सहकारीका सात सिद्धान्त मात्रै पालना गर्ने हो भने पनि सहकारीहरु समस्यामा पर्दैनन् । सात सिद्धान्त अनुसार सहकारीमा खुला तथा ऐच्छिक सदस्यता हुन्छ । सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता , शिक्षा, तालिम र सूचना तथा सहकारीहरुबीच पारस्परिक सहयोग र समुदायप्रति चासो जस्ता मान्यता अनुसार चल्ने सहकारी समस्यामा पर्दैनन् । तर, सहकारीहरु यसरी चलेका छन् कि छैनन् भन्ने नियमन नभएकैले आज धेरै सहकारी डुब्ने अवस्थामा पुगेका छन् । सर्वसाधारणको रकम जोखिममा परेको छ । यस्तो क्रम बढ्न नदिन सहकारी विभाग, स्थानीय सरकार जागरुक हुन जरुरी छ ।

