विराटनगर । मोरङको उर्लाबारी–मधुमल्ला सडक वर्षौदेखि अलपत्र बनाएर छाड्ने निर्माण कम्पनी कारवाहीको दायरामा आउने भएको छ । डिभिजन कार्यालय विराटनगरले उर्लाबारी–मधुमल्ला सडकको निर्माण गर्ने कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी कालोसूचीमा राखेर कारवाहीको प्रक्रिया अगाडि बढाउने भएको हो ।
सम्झौता भई निर्माण सुरू भएको एक दशक बितिसक्दा पनि उर्लाबारी–मधुमल्ला सडक अलपत्र बनाएर छाडने ललितपुरको खुमुलटारस्थित ‘प्रेरा ज्योति जेवी कन्स्ट्रक्सन’ ठेकेदार कम्पनीलाई सडक डिभिजन कार्यालयले कारवाहीको प्रक्रिया अघि बढाउने तयारी थालेको सडक डिभिजन विराटनगरका डिभिजन प्रमुख सुदर्शन कार्कीले जानकारी दिए ।
समयमै काम नसक्ने र सम्झौता भएको वर्षौ बितिसक्दा पनि निर्माण कम्पनीले तोकिएको मापदण्ड अनुसार काम कारवाही नगरेको पाइएपछि कारवाहीको प्रक्रियामा लैजाने तयारी गरिएको उनले बताए । ‘सम्झौता भएको १० वर्ष भइसक्दा पनि निर्माण कम्पनीले काम पूरा नगरेको र म्याद मात्र थपेर काममा ढिलासुस्ती गरेको पाइएपछि समयमै काम नसक्ने निर्माण कम्पनीलाई कारवाहीको प्रक्रिया अगाडि बढाएका छौं,’ डिभिजन प्रमुख कार्कीले भने, ‘काम नगरेपछि हामीले पटक –पटक निर्माण गर्न मौखिक र लिखित रूपमा पत्राचार गरेका छौं । निर्माण कम्पनीले उर्लाबारी–मधुमल्ला सडक निर्माणको काममा ढिलासुस्ती र अटेरी गरेको पाइएपछि ठेक्का सम्झौता रद्द गरी निर्माण कम्पनीलाई कारबाहीको प्रक्रियामा लैजाने तयारी गरेको छौं ।’ निर्माण कम्पनीले ठेक्का सम्झौता र सर्त बमोजिम काम नगरेको पाइएपछि सम्झौता रद्द गरेर कारवाहीको प्रक्रियामा जानुपर्ने अवस्था आएको उनले बताए ।
१२.४ किलोमिटरको उर्लाबारी–मधुमल्ला सडक निर्माणको ठेक्का प्रेरा ज्योतिले २०६९ जेठ ४ गते सम्झौता गरेर काम सुरु गरेको थियो । १६ करोड ७४ लाख ५६ हजार ५ सय ९१ रुपैयाँ ९० पैसामा इस्टिमेट निकालेको प्रेरा ज्योती जेबीले आधामा टेन्डर हालेर ८ करोड ९८ लाख २९ हजार १७ रुपैयाँ २ पैसाँमा ठेक्का लिएको थियो । उक्त सडक २०७१ जेठ ३ गते सम्पन्न गरिसक्नुपर्ने सम्झौता गरेको थियो । निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेपछि २०७३ जेठ ३ गतेसम्म सक्ने गरि म्याद थप गरेको थियो । ठेकेदार कम्पनीले ठेक्का पाएको मध्ये ६० प्रतिशत अर्थात ५ करोड ३८ लाख ९७ हजार ४ सय १० रुपैयाँ २ पैसा २०७२ असार २४ गते भुक्तानी लिएका छन् ।
काम नसकी ६० प्रतिशत भुक्तानी ठेकेदारले लिएपछि उक्त सडक प्रदेश सरकार मातहत गएको थियो । पछि संघीय सरकारको निर्णय अनुसार २०७८ माघ १० गते सडक डिभिजन कार्यालय मातहतमा आयो । ०७८ चैत १२ गते पत्र बुझेपछि अहिले सडक डिभिजन मातहत उर्लाबारी – मधुमल्ला सडक पर्दछ । अहिलेसम्म निर्माण कम्पनीले ग्राभेल मात्र सकेको डिभिजन प्रमुख कार्कीले जानकारी दिए ।
‘सम्झौता भइ काम सुरू भएको १० वर्ष बितिसकेको छ । यस बीचमा पाँच जना डिभिजन प्रमुखहरू फेरिए,’ उनले भने, ‘अहिलेसम्म कामको प्रगति सडक ग्राभेल मात्र भएको छ । त्यही भएर ढिलासुस्ती गर्ने निर्माण कम्पनीको सम्झौता रद्द गरि कारवाहीको प्रक्रिया अगाडि बढाउनेछौं ।’ निर्माण कार्यको ९० प्रतिशत भएपछि मात्र पुनः म्याद थप गर्नसक्ने प्रावधान रहेको छ । तर, निर्माण सुरु भएको १० वर्ष बितिसक्दा कामको प्रगति नदेखिएपछि यहाँका स्थानीयले पनि सम्झौता रद्द गर ी नयाँ सम्झौता गरेर काम सुरू गरिनुपर्ने माग राख्दै मंगलबार सडक डिभिजन कार्यालय विराटनगरमा आएका छन् ।
‘उर्लाबारी–मधुमल्ला सडक अलपत्र बनाएर ठेकेदार काम नगरी हिंडेका छन्, योजनाको फरफारक पनि छैन,’ सडक डिभिजन कार्यालयमा आएका उर्लाबारीका स्थानीय प्रभु राईले भने, ‘समयमै काम नसक्ने ठेकेदारलाई कालो सूचीमा राखेर कारवाही गरिनुपर्दछ । त्यसपछि नयाँ सम्झौता गरेर समयमै काम सक्ने निर्माण कम्पनीलाई ठेक्का दिनुपर्दछ ।’ समयमै काम नसक्दा उर्लाबारी– मधुमल्ला सडक खण्ड अन्तर्गतका स्थानीयले धेरै सास्ती पाएको उनले बताए । ‘समयमै काम सकिन्छ होला भनेर हामीले निर्माण कम्पनीलाई साथ सहयोग पनि गरेका थियौं,’ उनले भने, ‘वर्षौ बित्यो । तर, यहाँको सडक बनेन । समयमै सडक नबन्दा धुँवा, धुलोले यहाँका स्थानीय आजित छन् । त्यसैले उर्लाबारी–मधुमल्ला सडक ठेक्का लिने ठेकेदारलाई अविलम्ब कारबाहीको घेरामा तानियोस् र कालोसूचीमा राखेर त्यो बाटो फेरि बनाउनका लागि वातावरण सिर्जना गरिन हामी जोडजार माग गर्दछौं ।’
अहिले यहाँको सडक खाल्डैखाल्डा भएकाले दिनहुँ दुर्घटना भइरहेको उर्लाबारीका मानबहादुर श्रेष्ठले बताए । निर्माणका क्रममा ग्राभेल गरिएको ठाँउहरूमा खाडल परिसकेको उनले बताए । सडकको दुर्दशाका कारण आफूहरूले दुर्घटना र धूलोको पीडा झेल्नुपरेको उनले बताए । ‘जताततै खाल्डो छ । धुलोसमेत उस्तै छ,’ उनले भने, ‘खाडलकै कारण दैनिक दुर्घटनासमेत भइरहेको छ ।’
पटक–पटक पत्र काटेर निर्माण कार्य सुचारु गर्न आफूहरूले आग्रह गर्दासमेत ठेकेदार पक्ष सम्पर्कमा नआएको र सो सडक निर्माणको विषयमा अख्तियारले समेत अनुसन्धान सुरु गरेको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।
काम नसकी पाउनुपर्ने भन्दा बढी रकम ठेकेदारले भुक्तानी लिएपछि अख्तियारले अनुसन्धान सुरु गरेको छ । ‘निमार्ण सुरु भएको वर्षौ बितिसक्यो । कामले गति नलिए पनि ६० प्रतिशत भुक्तानी लिएर निर्माण कम्पनी हिँडेको देखिएपछि त्यस विषयमा अनुसन्धान सुरू गरिएको हो,’ अख्यितार स्रोतले भन्यो, ‘उर्लाबारी–मधुमल्ला सडकको विषयमा सडक डिभिजन कार्यालय विराटनगरबाट सम्पूर्ण कागजपत्र झिकाएर गहन रूपमा अनुसन्धान सुरू गरेका छौं ।’






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।