विराटनगर । असार भन्ने बित्तिकै सरकारी बजेट खर्च गर्ने महिना भनेर चिन्ने गरिएको छ । पूँजीगत बजेट सबैभन्दा धेरै खर्च हुने यो महिनामा अनुगमन , भ्रमण, गोष्ठी र अन्तरक्रियाका नाममा पनि बजेटको ठूलो हिस्सा खर्च हुने गरेको छ ।

असारे खर्चकै उदाहरण बनेको छ, प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय । सरकारी कोषबाट खर्च गर्ने समयवधि शनिबारसम्म रहेकोमा अग्रीम भुक्तानी लिएर मन्त्रालय नै खाली गरेर घुमफिरमा निस्केका हुन् ।

यतिबेला प्रदेश राजधानी विराटनगरसहितका तराईका जिल्लामा प्रचण्ड गर्मी छ । यहीबेला मन्त्रालयका कर्मचारीहरू कार्यक्रमको बहाना बनाएर इलाम, दार्जिलिङतिरको चिसो खान गएका छन् । तर, उनीहरुले घुमेर खर्चेको पैसा भने राज्यकोषको हो, जो जनताले तिरेको कर हो ।

असारे मैजारो मान्न उनीहरू इलाम गएका हुन । आइतबार र सोमवार दुई दिनमा तीन वटा कार्यक्रम आयोजना गर्न उनीहरू इलाममा पुगेका हुन् । भुक्तानीको काम समेत सकेर पूर्वनिर्धारित कार्यक्रम भन्दै कार्यालयका कर्मचारी इलाम बजार र पशुपतिनगरमा दुई वटा कार्यक्रम गरेका छन् ।

आन्तरिक मामिला मन्त्रालयले न्याय क्षेत्रबारे कार्यक्रम आयोजना गर्ने भनेर बजेट छुट्याएको थियो । वर्षभरी त्यो कार्यक्रममा कुनै ध्यान नदिएका कर्मचारीले आइतबार इलाममा दिउँसो न्यायाधीशहरुसँग अन्तरक्रिया गरे ।

मन्त्रालयले कारागारका बन्दीहरुका लागि भनेर पनि बजेट छुट्याएको थियो । यही कार्यक्रम पनि कर्मचारीले आइतबार नै भ्याइदिए । इलाम कारागारका कैदीहरुसँग आइतबार साँझ अन्तरक्रिया गरे ।

कर्मचारीहरु यतिमै रोकिएनन् । उनीहरुको नजरमा मन्त्रालयले बजेटको व्यवस्था गरेको अर्को कार्यक्रम थियो, नाकामा सुरक्षा अवस्थाबारे छलफल । इलाम घुम्न गएका कर्मचारीले यो कार्यक्रम पनि सोमबार बिहानै पशुपतिनगरमा सम्पन्न गरे । कार्यक्रम सकेर उनीहरु त्यतात्यतै भारतको दार्जिलिङ घुम्न गए ।

मन्त्रालयले कारागारभित्र मानवअधिकार तथा कानुनी सचेतना कार्यक्रमका लागि २८ लाख रुपैयाँ विनियोजन गरेको थियो भने न्याय क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्न भनेर २० लाख बजेट विनियोजन गरेको थियो । इलाममा दुई दिनमा आयोजना भएको कार्यक्रममा त्यो सबै खर्च भयो कि त्यसअघि पनि यी कार्यक्रम आयोजना भयो भन्ने खुलेको छैन ।

सोमबार अपरान्ह मन्त्रालयमा हाम्रोमतकर्मी पुग्दा केही कार्यालय सहयोगी र तल्लोतहका कर्मचारी मात्र थिए । ‘सचिव उपसचिव, शाखा अधिकृत सरहरू फिल्डमा जानु भएको छ’, एक कर्मचारीले भने ‘उहाँहरू इलामको पशुपतिनगर हुँदै भारतको दार्जिलिङ सिक्किम पनि घुमेर आउने कुरा छ ।’ ती कर्मचारीका अनुसार उनीहरुले मन्त्रालय छाड्ने बितिकै टिएडिए पनि आइहाल्छ । राज्यको पैसा सिध्याउने योजनासहित घुमघाममा निस्किएका कर्मचारीले जनताकै करको पैसा हरेक दिनको जोडेर टिए–डिएका रुपमा पनि लिने गरेका छन् ।

यसरी घुम्न निस्केका मन्त्रालयका सबै कर्मचारीहरु सोमबार दिउँसो १ बजेपछि सम्पर्कविहीन बनेका छन् । एक बजेदेखि उनीहरुको फोन अफ रहेको मन्त्रालयकै एक कर्मचारीले बताए । पशुपतिनगर नाकाबाट भारततर्फ लागेपछि फोन लाग्दैन ।

सोमबार मन्त्रालयमा कति कर्मचारी छन् भन्ने सूचना दिने कोही पनि कर्मचारी थिएनन् । मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीलाई पटक पटक सम्पर्क गर्दा पनि उनको फोनमा सम्पर्क हुन सकेन । मन्त्रालयका सूचना अधिकारी विजय मगर भने बिदामा थिए ।

प्रवक्ता ओमप्रकाश न्यौपानेसँग पनि सम्पर्क हुन सकेन । कानुन तर्जुमा तथा फैसला कार्यान्वयन शाखाका उपसचिव गणेश नायकले कार्यक्रम सकेर आफू फर्कँदै गरेको बताए । सचिव लगायतको टोली साँझमा मात्रै आउने उनले बताए । आफूहरू मन्त्रालय नै शुन्य बनाएर नहिँडेको उनको दाबी थियो । ‘हामी १० जना मात्रै आएका थियौं’, उनले भने ‘ पाँच जना साथीहरु त मन्त्रालयमै हुनुहुन्थ्यो ।’ उनले मन्त्रालयमा जम्मा कर्मचारी कति हुन् भन्दा आफूलाई जानकारी नभएको जवाफ दिए ।

स्रोतका अनुसार कर्मचारीहरुले इलाम भ्रमणका बारे मन्त्री केदार कार्कीलाई पनि स्पष्ट जानकारी दिएका थिएनन् । उनीहरु कानुनसँग सम्बन्धित कार्यक्रम गरेर आउने जानकारी मात्र गराएर निस्किएको स्रोतको भनाइ छ । त्यसबारेमा मन्त्री कार्कीले भने ‘मन्त्रालयकै कार्यक्रममा कर्मचारी साथीहरु जानुभएको हो । थप कुरा जानकारी छैन ।’

मन्त्रालयमा कर्मचारी नभएको विषयमा कुनै जानकारी नभएको प्रदेश १ का प्रमुख सचिव विनोदप्रकाश सिंहले बताए । ‘मलाई यो जानकारी छैन उनले भने ‘असार अन्तिममा धेरै कार्यालयका कर्मचारी नहुने गरेको गुनासो आउन थालेकाले यसको अनुगमन गर्छाै ।’ असार अन्तिममा कार्यक्रम गर्ने प्रवृत्ति नरोकिएसम्म यस्ता कार्यक्रमहरू हुने प्रमुख सचिव सिंहको भनाइ छ ।