विराटनगर । तीन जना व्यावसायिक साझेदारको हत्या गरेर शव खाल्डोमा गाडिएको घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय मोरङमा पुगेको छ ।
इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले घटनाको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो ।
प्रहरीले तयार पारेको मिसिल वकिल कार्यालयले अध्ययन गरेपछि अदालतमा अभियोगपत्र दर्ता हुनेछ । जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले प्रहरीको मिसिल अध्ययनपछि हत्यामा संलग्नविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिने बताए ।
अनुसन्धानमा केही छुटेको पाइएमा मिसिल पूर्ण बनाउनका लागि पनि सरकारी वकिलले प्रहरीलाई निर्देशन दिनसक्नेछ । प्रतिवादीहरू विरुद्ध आगामी सोमबारसम्ममा अदालतमा मुद्दा दर्ता हुने स्रोतले जनाएको छ ।
सिरहाको सिरहा नगरपालिका–२१ घर भई काठमाडौँ बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिलकुमार मण्डलको योजनामा तीन जना व्यावसायिक साझेदारको हत्या भएको थियो । हत्यापछि खाल्डोभित्र शव गाडेको अवस्थामा दुई जनाको शव मोरङ र एक जनाको ललितपुरमा फेला परेको थियो ।
तीन जनाको हत्यामा ६ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न ५ जना पक्राउ परिसकेका छन् भने फरार रहेका एक जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

