विराटनगर । मोरङको रानीदेखि धरानसम्म निर्माण भइरहेको उत्तरदक्षिण ६ लेनको सडकमध्ये रानी–तरहरा खण्डको दुहबी बाहेकको काम सम्झौता अबधि सकिएको ३ वर्षमा पनि पुरा भएको छैन ।
रानीदेखि तरहरासम्मको करिब ३७.४ किलोमिटर सडक करिब ६ अर्बभन्दा बढीको लागतमा निर्माण गर्ने गरी ठेक्का लागेकोमा दुहबी खण्डको डेढ किलोमिटर क्षेत्रको काम भने सुरु नै हुन सकेको छैन ।
दुहबी बजारमा करिब डेढ किलोमिटर क्षेत्रमा साईट क्लियरेन्स नभएकोले काम अगाडि नबढेको सडक योजना इटहरीका प्रमुख बद्री शर्माले बताए । जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलमा सहभागीले आयोजनालाई विराटनगरको वडा नं. १३, १५ र १६ सडककै कारण डुबानमा परेकोले त्यसतर्फ आयोजनाको ध्यान जानुपर्ने सझुाब दिएका थिए ।
कछुवा तालमा बनेका यो सडकका कारण दुर्घटना भइरहेको, सडक बत्ती लाग्न नसकेको, सडकमा दुर्घटना बढेको विषय छलफलमा उठेको थियो । सुनसरीको इटहरीदेखि तरहरासम्मको बाटो अन्तर्राष्ट्रियस्तरको भएपनि इटहरीदेखि मोरङ रानीसम्मको बाटो अवस्था निकै कमजोर देखिएको सहभागीले बताउ ।
नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिका सभापति दीपक चापागाईं, नेकपा एमाले विराटनगर समितिका अध्यक्ष सागर थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष नविन पौडेलसहित उद्योगी व्यवसायीले सडकको निर्माणमा देखिएको समस्याको समाधान गर्न सुझाब दिए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सबैको प्रतिबद्धता र निरन्तरताले मात्र योजना दुरुस्त र राम्रो बन्ने भन्दै नागरिक सुरक्षाका निम्ति कसैसँग सम्झौता नगर्ने बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर बजारको व्यस्तालाई ध्यानमा राखेर आकाशे पुल बनाउन लागेको जानकारी दिँदै नगर क्षेत्रको ६ लेनको बाटोमा सौन्दर्यकरण गर्न कुनै कसर बाँकी नराख्ने बताए । योजना प्रमुख शर्माले सडकका कारण नागरिकलाई हुने हानी नोक्सानीलाई न्यूनीकरण गर्नेतर्फ ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
सडकको सौन्दर्यकरणमा योजनाले कसैसँग अनुदान वा सहयोग नमाग्ने भन्दै शर्माले त्यसका लागि योजनाले सक्ने जति खर्च गर्ने बताए ।

