विराटनगर । लामो समयदेखि स्थगित प्रदेश एकको प्रदेश सभा बैठक माघ २० गते बोलाउने तयारी सुरु भएको छ । प्रदेश सरकार फेरबदलको क्रम तीव्र हुँदा संसद्को हिउँदे अधिवेशन यसपटक दसैंअघि नै सुरु भएको थियो ।
तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसद्बाट विश्वासको मत लिन हिउँदे अधिवेशन बोलाएका थिए । मुख्यमन्त्री पदबाट आचार्यले राजीनामा दिएपछि राजेन्द्र राई मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । उनले विश्वासको मत लिएपछि संसद बैठक अनिश्चितकालका लागि स्थगन भएको थियो । अब भने चाँडै संसद बैठक सुचारु गरिने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए ।
संसद बैठक सुचारु गर्नकालागि सरकारले तर्याप्त विधेयकको मस्यौदा तयार पारेको उनले बताए । सभामुख प्रदीपकुमार भण्डारीले पनि प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दलसँग परामर्श गरेर छिट्टै बैठक बोलाउने बताए । सबैजसो दलहरु आफ्नो पार्टीको अधिवेशनमा व्यस्त भएको साथै राष्ट्रिय सभाको निर्वाचनका कारण बैठक सुचारु नगरिएको भए पनि अब चाँडै बैठक सुचारु गरिने उनले बताए ।
अधिवेशन अन्त्य नभइ अर्काे सुचना नभएसम्मकालागि स्थगित गरिएको अवस्थामा सरकारले विधेयकको मस्यौदा (विजनेश) दिएपछि सभामुखले प्रदेश सभा बैठक बोलाउने संसदीय अभ्यास छ । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलले समेत अविलम्ब प्रदेशसभाको बैठक बोलाउन माग गरेको छ । एमाले संसदीय दलको केहिदिन अघि बसेको बैठकले संसद बोलाउने सहित विभिन्न सात बुँदे माग राख्दै प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराएको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।