इनरुवा । इनरुवा १ स्थित अस्पताल रोडमा अनार पोलिक्लिनिक लेखिएको ठूलो साइन बोर्डमा यहाँ भिडियो एक्स–रे गरिन्छ भनि लेखेको देखेर रातो साडी र कालो ब्लाउज लगाएकी, ३–४ महिनाको पेटमा गर्भ रहेको जस्तो देखिने एक जना गर्भवती महिला अनार पोलिक्लिनिकमा बिहीबार दिउँसो १ बजेर ३५ मिनेटमा आइन ।
इनरुवा अस्पतालको दुई सय मिटर पश्चिम–दक्षिण तिरको पेटीमा रहेको अनार पोलिक्लिनिकमा महिलासहित एक पुरुष आए । बायाँ हातमा महिलाले कपडाको झोला झुन्ड्याउँदै आएकी थिइन् ।
गर्भवती महिलासँगै आएको एक जना पुरुष अनार पोलिक्लिनिकको भिडियो एक्सरे गर्ने कोठातिर लागिन् । कोठा नजिकै घुम्ने खुर्सीमा भिडियो एक्स–रे गर्ने जना र भित्रै एक जना युवती उभिरहेकी थिईन् । ती महिला–पुरुष युवती नर्सतिर लम्किँदै जान्छन् । अनि महिलासँगै गएको पुरुषले भन्न थाल्छन्, ‘सिस्टर छोरा कि छोरी हेर्नुपर्ने थियो ।’
ति पूरुषले गर्भवती रहेको महिलाको पेटमा नानी कि बाबु छ भनेर हेर्नुपर्ने थियो ? ‘कसरी हेर्ने हो कहाँ हो हेर्ने’ नर्सको सेतो ड्रेस नलगाएकी तर नर्स जस्तै देखिने ती युवती भन्छिन्, ‘हुन्छ यही हो गर्ने ठाउँ । १०–१५ मिनेट जति बस्नुहोस हुन्छ जाँच उनले भनिन् । डाक्टर साहेब भिडियो एक्स–रे गर्दै हुनुहुन्छ ! बस्नोस् तपाइँहरु ।’ त्यसपछि ति महिला र पुरुष अनार पोलिक्लिनिकको कोठा अगाडि रहेको बेञ्चमा आएर लुसुक्क आएर बसिन् । यसपछि उनीसँग कुराकानी सुरु हुन्छ ।
गर्भवती ती महिलाको घर इनरुवामा रहेछ । ३५ वर्षीय उनको सानै उमेरमा परिवारकै सहमतिमा उनको इनरुवामा विवाह भएको थियो । उनले २ पटक नै लगातार छोरी जन्मिएकी थिइन् । उनको जेठी छोरी ६ वर्ष र कान्छी छोरी ४ वर्षका छन् । फेरि उनी छोरा जन्माउने आशमा गर्भवती भएको तीन महिना भयो । पहिलो छोरी जन्मिदा उनलाई जति सासुससुराबाट खुसी थियो अहिले त्यो छैन ति महिलालाई । ती गर्भवती महिला नरोएको दिन र आधा पेट खानु नपरेको दिन छैन ।
दुई छोरी जन्मिएकै कारण उनले धेरै दुःख पाउनु परेको बताइन् । तेस्रो बच्चा पनि छोरी भन्ने आशंकाले उनि श्रीमान्सहित इनरुवाकै अनार पोलिक्लिनिकमा भिडियो एक्सरे गर्न आएका रहेछन् । ती महिलालाई त आफ्नो पेटमा जे भए पनि स्वीकार रहने भए पनि उनी श्रीमान् र परिवारको करमा इनरुवाको अनार पोलिक्लिनिकमा आएकी रहिछन् । उनले मन्द स्वरमा भन्दै थिइन्, ‘श्रीमान्ले भन्या छ, छोरी छ भने फाल्ने रे, तर म मजबुरमा छु, हामीलाई त माया लाग्छ छोरी भए नि छोरा भए नि । के गर्ने छोरी छ भने फाल्नुपर्छ ।’
उनले सासुससुराको कर र श्रीमान्को दबाबले यस्तो काम गर्नुपरेको बताउँछिन् । अनार पोलिक्लिनिक इनरुवाको बेञ्चमा रहेकी ति महिलाको भिडियो एक्स–रे गर्ने बेला भएपछि भित्रबाट ती युवतीले बोलाइन् । आउनुहोस्, तपाईको पालो आयो । भित्र पसेपछि अनार पोलिक्लिनिकका नक्कली रेडियोलोजिष्ट अशोककुमार यादवले गर्भवती महिलाको भिडियो एक्स–रे गरे । गर्भभित्र छोरी रहेको नक्कली रेडियोलोजिष्टले अशोककुमार यादवले बताएपछि महिला पुरुष दुवै जना आँखा आँशु लिँदै निराश बन्दै गन्तव्य तिर लागे ।
भिडियो एक्स–रे गरी लिंग पहिचान गर्नु कानुनीरुपमा दण्डनीय नै हुने इनरुवा अस्पतालका मे.सु. डा.देबराज घिमिरेले बताए । उनले भने, ‘छोराछोरीको विभेद नै समाजले निम्ताएको हो । छोरी भयो भनेर गर्भपतन गर्नुमा महिलाको भन्दा परिवारको गल्ती हो । महिलालाई दबाब दिएर नै उनीहरु गर्भपतन गर्न बाध्य हुुन्छन् ।’ समाजमा सामाजिक परिवेशले गर्दा महिलाले नचाहँदा नचाहँदै गर्भमा के छ भनेर हेर्नुपर्ने उनको भनाइ छ ।
छोराछोरी के छ भनेर भिडियो एक्स–रे गर्न त धेरै आउने तर छोरी छ भनेर गर्भपतन गर्न भनेर चाँही डाइरेक्ट नभनी लुकीछिपी अर्थात् अप्रत्यक्ष तरिकाले गर्ने गरेको घिमिरे बताउँछन् । उनका अनुसार सरकारले गर्भमा छोरा कि छोरी भनेर हेर्नु नै कानुन विपरीत रहेको बताए ।
लिंग पहिचान गरेर गर्भपतन गर्न पाइँदैन । तर, इनरुवामा भिडियो एक्स–रे खुलेयाम रुपमा अनार पोलिक्लिनिकका नक्कली रेडियोलोजिष्ट अशोककुमार यादवले कानुन विपरीत लिङ्ग पहिचान गर्दै आएको सर्वसाधरणहरुको गुनासो छ ।
मुलुकी अपराध (संहिता) ऐन–२०७४ को दफा १८९ अनुसार गर्भवती महिलाको मन्जुरीमा १२ हप्तासम्मको, महिलाको ज्यानमा खतरा पुग्नसक्ने वा निजको शारीरिक, मानसिक स्वास्थ्य खराब हुनसक्ने, वा विकलाङ्ग बच्चा जन्मिन्छ भने इजाजत प्राप्त चिकित्सकको राय भई महिलाले गर्भपतन गर्न पाइनेछ । त्यस्तै जबरजस्तीकरणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको, कुनै पनि डरलाग्दो रोग लागेमा, एचआईभी लागेमा, निको नहुने रोग लागेमा महिलाको मन्जुरीमा गर्भपतन गर्न सकिन्छ ।
यो बाहेक अरु अवस्थामा गर्भपतन गरे सजाय हुनेछ । १२ हप्तासम्म गर्भ भई एक वर्षसम्म कैद र १० हजार जरिवाना हुने, १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ पतन गरेमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना, २५ हप्ताभन्दा बढीको गर्भपतन गरेमा पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना हुने कानुनमा उल्लेख छ । महिलालाई डर, धम्की दिई, करकापमा पारी प्रलोभन देखाई गर्भपतन गराउन नहुने कानुनले जनाएको छ । यस्तो गरेको खण्डमा जसले पनि ६ महिनाभित्र गर्भपतनविरुद्ध उजुरी दिन पाउनेछन् ।
इनरुवाका एक जना रेडियोलोजिष्ट डा. काअनुसार समाजमा छोराछोरी भन्ने विभेद रहिनै रहेको छ । समाजमा नै लिङ्ग पहिचान गरी गर्भपतन गर्ने कुराहरु सामान्य जस्तो रहेको उनको भनाइ छ । समाजमा नियम कानुनको बारेमा थाहा भएका र शिक्षित परिवारबाट नै लिङ्ग पहिचान गरी अनार पोलिक्लिनिकका नक्कली रेडियोलोजिष्ट अशोककुमार यादव जस्ताका कारण गर्भपतन गरिरहेको उनले बताएका छन् ।
छोराका आशामा भौतारिने दम्पत्तीलाई धामीझाँक्री बसाएर वा झारफुक र तन्त्रमन्त्रबाट छोरा बनाइदिन्छु भन्दै ठगेका घटना नेपाली समाजमा नौला होइनन् । तर चिकित्सा विज्ञानमा विशेषज्ञता हासिल नगरेका नक्कली चिकित्सक भ्रम छर्दै सर्वसाधरणलाई लुटिरहेका छन् ।
इनरुवा अस्पतालको छेउमै अनार पोलिक्लिनिक खडा गरेर दैनिक नक्कली रेडियोलोजिष्ट अशोककुमार यादव जस्ता दर्जनौं दम्पत्तिको भावनासँग खेल्दै लाखौं कमाउँदै आएका छन् । चिकित्साजस्तो सम्मानित पेशाको बद्नाम गर्दै पैसाका लागि मानिस कतिसम्म गिर्नसक्छ भन्ने प्रतिनिधि अनार पोलिक्लिनिक खडा गरेर दैनिक ५० हजारबढी कमाउने नक्कली रेडियोलोजिष्ट अशोककुमार यादव बनेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।