राष्ट्रियसभाको निर्वाचनमा अन्तरघातको लहर

– खुल्लातर्फ एमालेका उम्मेदवार गुरु बराललाई २ सांसदको अन्तरघात (एमालेका ४) सांसद रहेकोमा ३८ को मात्र मत पाए । गठबन्धनका गोपाल बस्नेतलाई स्थानीय तहका ९ जनाको अन्तरर्घात (१२५ को मत पाउनुपर्नेमा ११६ को मात्र पाए) ।

– अल्पसंख्यक तथा अपाङ्गता कोटामा गठबन्धनका हेमराज राईलाई १ सांसद (५० हुनुपर्ने ४९ जनाको मत प्राप्त) र स्थानीय तहका १२ जनाको अन्तरघात (१२५ जनाको मत प्राप्त गर्नुपर्नेमा ११३ जनाको मत प्राप्त)

– महिला कोटामा एमालेका सुमित्रा भण्डारीलाई २ सांसदको अन्तरघात (४० जनाको मत प्राप्त गर्नुपर्नेमा ३८ जनाको मात्र मत प्राप्त) खुल्लातर्फ राप्रपाका अमर विष्टलाई बोनस (१ सांसद रहेकोमा २ मत र ३ स्थानीय तहको मत प्राप्त हुनुपर्नेमा ४ जनाको प्राप्त)

विराटनगर । प्रदेश १ मा नेकपा एमालेको तीन राष्ट्रियसभाका सदस्यको कार्यकाल समाप्त हुनलाग्दा उनीहरुको पदको लागि बुधबार भएको निर्वाचनमा एमालेले दुई स्थान गुमाएर एक मात्र स्थान जितेको छ ।

नेकपा एमालेका राष्ट्रियसभाका सांसदहरु पर्शु मेघी गुरुङ, अगम बान्तवा र नैनकला ओझाको पदावधि सकिनलाग्दा उनीहरुको पदमको लागि निर्वाचन हुँदा पाँच दलीय गठबन्धनको उम्मेदवार नेपाली काँग्रेसका गोपालबहादुर बस्नेत र नेकपा एकीकृत समाजवादीका जयन्ती राई तथा नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भए ।

एमालेका उम्मेदवार गुरु बराल र गठबन्धनका उम्मेदवारबीच बराबरी मत आएकोमा गोला तान्दा गठबन्धनका उम्मेदवार बस्नेत बिजयी भएका हुन् । स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रियसभा निर्वाचनको लागि प्रदेशमा गठबन्धनको मतभार धेरै थियो । तर, धेरै मत तलमाथि हुँदा गठबन्धनबाट अल्पसंख्यक कोटाका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राई पराजित भए ।

बराललाई सांसदको अन्तरघात

बुधबार साँझ आएको मतपरिमाण अनुसार गठबन्धनका खुल्लातर्फ गठबन्धनका उम्मेदवार बस्नेत र एमाले उम्मेद्वार बरालले बराबरी ४ हजार ४८८ मत प्राप्त गरे । बराललाई प्रदेशसभाका ३८ र स्थानीय तहका १४८ जनप्रतिनिधिले मत दिएका छन् । काँग्रेसका बस्नेतललाई प्रदेशसभाका ५० र स्थानीय तहका ११६ जनप्रतिनधिले मत दिए ।

प्रदेशसभामा नेकपा एमालेको ४१ सांसद रहेकोमा फरार अभियुक्त रहेकी गुलेफुन यादव मतदान प्रक्रियाामा अनुपस्थित रहेकी थिइन् । एमालेकै एक सांसदको मत बदर बदर भएको थियो भने एक सांसदले राप्रपाका उम्मेदवार अमर विष्टलाई मतदान गरेको पाइएको छ । प्रदेशसभामा गठबन्धनका ५० सांसद रहेकोमा बस्नेतले ५० जनाकै मत प्राप्त गर्दा १ सांसद मात्र रहेको राप्रपाका विष्टले २ सांसदको मत पाएका छन् ।

बस्नेतलाई स्थानीय तहको अन्तरघात

स्थानीय तहतर्फ भने गठबन्धनका १२६ जना मतदाता रहेकोमा बस्नेतमाथि ९ जनाले अन्तरघात गरेका छन् । विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्की विरामीको कारण अनुपस्थित हुँदा बस्नेतले ११६ जनाको मात्र मत प्राप्त गरे । स्थानीय तहमा एमालेको १४२ मतदाता रहेकोमा बरालले १४८ मत प्राप्त गरे । उनलाई गठबन्धनका ६ मतदाताले मत दिएको पाइएको छ ।

खुल्लातर्फ १ सांसद र चार स्थानीय तहका जनप्रतिनिधिको मत बदर हुँदा राप्रपका उम्मेदवार अमर विष्टले प्रदेशसभाका २ र स्थानीय तहका ४ जनप्रतिनिधिको मत पाएका छन् । प्रदेशसभामा राप्राको १ सांसद मात्र रहेकोमा एमालेका एक सांसदले उनलाई मतदान गरेको देखिएको छ ।
राप्रपाबाट निर्वाचित झापाको गौरिगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ मतदानमा अनुपस्थित हुँदा पनि विस्टले ४ जनाकै मत पाएकोले उनले गठबन्धनका एक जनप्रतिनिधिको मत प्राप्त गरेको देखिएको छ । खुल्लातर्फ प्रदेश सांसद १ जनाको र स्थानीय तहका २ जनाको मत बदर भएको छ ।

गठबन्धनको मत तानेर शेर्पा विजयी

राष्ट्रियसभाको अल्पसंख्यक तथा अपाङ्गता कोटा नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पाले ४४७० मत प्राप्त गर्दै ४३८६ मत प्राप्त गर्ने गठबन्धनबाट उम्मेदवार रहेका जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गरे । शेर्पाले प्रदेशसभाका ४२ सांसदको र स्थानीय तहका १५३ जनप्रतिनिधिको मत प्राप्त गर्दा राईले प्रदेशसभाका ४९ र स्थानीय तहका ११३ जनप्रतिनिधिको मत प्राप्त गरेका छन् ।

अल्पसंख्यक तथा अपाङ्गता कोटामा राप्रपाको उम्मेदवार नरहेकोले उनीहरुको मत शेर्पालाई गएको देखिएको छ । यस्तै गठबन्धनका १ सांसद र स्थानीय तहका ११ जनाले फ्लोर क्रस गरेर शेर्पालाई मत हालेका छन् । स्थानीय तहको ४ मत भने बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

राईलाई एमालेकै सांसदको मत

राष्ट्रियसभाको महिला कोटामा गठबन्धनबाट उम्मेदवार बनेको नेकपा एकीकृत समाजवादीकी जयन्ति राईले भने गठबन्धनसहित एमालेकै २ सांसदको मत प्राप्त गरेकी छन् । उनलाई प्रदेशसभाको ५२ र स्थानीय तहका १२२ जनप्रतिनिधिले मत दिएको पाइएको छ ।
राईले ४ हजार ६९२ मतभार पाएर बिजयी हुँदा प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ४ हजार ३६२ मत प्राप्त गरिन । उनलाई प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिले मत दिए । उनलाई एमालेकै २ सांसदले फ्लोर क्रस गरेर मत दिएनन् ।

तेस्रो स्थान पाएकी राप्रपाकी उम्मेद्वार रन्जु प्याकुरेललाई प्रदेशसभाका १ र स्थानीय तहमा ४ जनप्रतिनिधिले मत दिए । महिलातर्फ स्थानीय तहको ३ मत बदर भएको छ । प्रदेश १ मा ३६४ मतदाता थिए । जसमा प्रदेशसभा सदस्य ९२ जना र स्थानीय तहको प्रमुख÷अध्यक्ष तथा उप्रमुख÷उपाध्यक्ष २ सय ७२ जना रहेका थिए । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हो । जसअनुसार ९२ प्रदेशसभा सदस्यहरुको मतभार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८९६ गरि जम्मा मतभार ९ हजार ३१२ रहेको थियो ।