विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन् ।
बुधबार भएको मतगणना अनुसार उनले प्रदेशसभाको ५२ र स्थानीय तहको १२२ जनप्रतिनिधिको मत पाइन् । अन्तिम मत परिमाण अनुसार गठबन्धनकी राईले ४ हजार ६ सय ९२ मतभार पाएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन् । उनको मतभार ४ हजार ३ सय ६२ पुगेको छ ।
तेस्रो स्थान पाएकी राप्रपाकी उम्मेद्वार रन्जु प्याकुरेलले प्रदेशमा १ र स्थानीयमा ४ जनप्रतिनिधिको मत पाएकी छिन् । महिलातर्फ ३ मत बदर भएको छ । बदर भएको मत स्थानीय तहका जनप्रतिनिधिको रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले राई निर्वाचित भएको आधिकारिक घोषणा भने गरेको छैन । प्रदेशमा अन्य र अल्पसङ्रख्यक तथा अपाङ्गतातर्फका उम्मेदवारको मतगणना भने भइरहेको छ ।

