विराटनगर । प्रदेश १ मा तीन पदका लागि राष्ट्रिय सभाको निर्वाचनमा मतदान जारी छ । आज विहान ९ देखि ३ बजेसम्म मतदान गर्नेे समय तोकिएको छ । प्रदेशका सामाजिक विकासमन्त्री जयराम यादवले मतदान गरेर सुरु भएको थियो ।
प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधीश भरत लम्सालका अनुसार अहिलेसम्ममा ६० प्रतिशत बढीले मतदान गरिसकेका छन् । मतदान गर्ने स्थल दुई ठाउँमा तोकिएको छ । प्रदेश सभा सदस्यहरुको लागि विराटनगरस्थित बाली संरक्षण प्रयोगशाला र स्थानीय तहका प्रमुख उपप्रमुखहरुको लागि प्रदेश निर्वाचन कार्यालयमा मतदानस्थल तोकिएको छ ।
प्रदेशमा तीन पदका लागि हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा आठ जना चुनावी मैदानमा छन् । सत्तारूढ गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रतिस्पर्धामा छन् । सत्तारूढ गठबन्धनबाट खुलातर्फ नेपाली कांग्रेसका झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीबाट भोजपुरकी जयन्ती राई र अल्पसंख्यक वा अपाङ्ग कोटामा जनता समाजवादी पार्टीका भोजपुरका हेमराज राई चुनाबी मैदानमा छन् ।
यस्तै नेकपा एमालेका तर्फबाट खुल्लातर्फ मोरङका गुरू बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अल्पसंख्यक कोटामा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा रहेका छन् । यस्तै राप्रपाको तर्फबाट झापाका अमर विष्टले खुल्ला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी छ । राप्रपाले अपाङ्गता तथा अल्पसंख्यकतर्फ भने उम्मेदवारी दिएको छैन ।
प्रदेश १ मा खुल्ला, महिला र अल्पसंख्यक/अपांगतातर्फ तीन सदस्यका लागि निर्वाचन हुँदैछ । एमालेबाट निर्वाचित भएका राष्ट्रियसभा सदस्यहरू नैनकला ओझा, अगम प्रसाद बान्तवा राई र पर्शुराम मेघी गुरूङको पदावधि आगामी फागुन २० मा सकिँदैछ । रिक्त हुने स्थानको लागि निर्वाचन हुन लागेको हो ।
यस्तो छ दलगत अंकगणित
स्थानीय तहका अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन् । प्रदेश सभा सदस्यीय ९२ जना र
स्थानीय तहको प्रमुख र उप्रमुख २ सय ७२ जना रहेका छन् ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानूनी प्रावधान छ । जसअनुसार ९२ प्रदेशसभा सदस्यहरूको मतभार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८९६ गरि जम्मा मतभार ९ हजार ३१२ रहेको छ ।
प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५४२ मतभार छ भने पाँच दलीय गठबन्धनमा आबद्ध दलहरूको कुल मतभार ४ हजार ६८६ देखिएको छ । एमालेभन्दा गठबन्धन १ सय ४४ मतले अगाडि देखिएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशको गठबन्धनमा आबद्ध नेपाली कांग्रेसको २ हजार ७३६, नेकपा माओवादी केन्द्रको १ हजार ८, नेकपा एकीकृत समाजवादीको ६७८, जनता समाजवादी पार्टीको २१६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ । प्रदेशमा गठबन्धन र एमालेबाहेक राप्रपाको १२० मतभार रहेको छ ।
प्रदेशमा नेकपा एमालेका ४१ जना प्रदेशसभा सदस्य, ६३ स्थानीय तहका प्रमुख र अध्यक्ष ७९ तहका उपाध्यक्ष र उपमेयर छन् । प्रदेशसभातर्फ एमालेको मतभार १ हजार ९६८ रहेको छ भने स्थानीय तहतर्फ १४३ जनप्रतिनिधिको २ हजार ५५६ मतभार रहेको छ ।
यसैगरी नेपाली कांग्रेसको प्रदेशसभा सदस्य २१ तथा स्थानीय तहका मतदाता प्रतिनिधि ९६ रहेका छन् । काँग्रेसका प्रमुख र अध्यक्ष ५४ तथा उपप्रमुख र उपाध्यक्ष ४२ को मतभार १ हजार ७२८ रहेको छ भने प्रदेशसभामा २१ सांसदको मतभार १००८ गरि जम्मा मतभार २ हजार ७३६ छ ।
नेकपा (माओवादी केन्द्र) १५ प्रदेशसभा सदस्य र स्थानीय तहका मतदाता प्रतिनिधि १६ जना छन् । माओवादीका १५ प्रदेशसभा सदस्यको ७२० मतभार रहेको छ भने प्रमुख र अध्यक्ष ९ जना तथा उपप्रमुख र उपाध्यक्ष ७ जनाको मतभार २८८ सहित माओवादीको जम्मा मतभार १ हजार ८ छ ।
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)को प्रदेशसभामा १० सांसद र स्थानीय तहमा मतदाता रहेका १० जना जनप्रतिनिधि छन् । स्थानीय तहका प्रमुख र अध्यक्ष ४ जना तथा उपप्रमुख र उपाध्यक्ष ६ जनाको मतभार १८० रहेको छ भने प्रदेशसभा सदस्यको ४८० सहित एकीकृत समाजवादीको जम्मा मतभार ६६० रहेको छ ।
प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष २ रहेको जनता समाजवादी पार्टीसँग २१६ मतभार रहेको छ भने अध्यक्ष ३, उपाध्यक्ष १ र प्रदेशसभा सदस्य १ रहेको राप्रपासँग १२० मतभार रहेको छ । प्रदेशसभामा १ सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ ।

