विराटनगर । देशैभर राष्ट्रियसभाको निर्वाचन आगामि माघ १२ गते हुँदैछ । प्रदेश १ मा राष्ट्रियसभाका लागि पाँच दलीय गठबन्धन र एमालेका उम्मेद्वारबीच प्रतिस्पर्धा हुँदैछ । राप्रपाले पनि आफ्ना दुई उम्मेद्वारलाई मैदानमा उतारेको छ ।
यसैसन्दर्भमा सरकारी कागजात किर्ते मुद्दामा दोषि देखिएकी एमालेकी सांसद गुलेफुन खातुन मतदान प्रक्रियामा सहभागी होलिन् कि नहोलिन् भन्ने चासो बढेको छ ।
यसअघि प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने बेलामा पनि गुलेफुनको चर्चा भएको थियो । यद्यपि अन्तिम समयमा उनी आइनन् । सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ जरिमाना सजायको फैसला सुनाएपछि उनी फरार छिन् । प्रहरीले उनलाई खोजी गर्नुपर्ने फरार अपराधिको सूचीमा राखेको छ ।
‘उहाँ लामो समयदेखि प्रदेश सभाको बैठकमा आउनु भएको छैन,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले भने, ‘उहाँबारे हामी जानकार छौं,’ उनले भने, ‘प्रहरीले आफ्नो काम गर्छ, यस विषयमा धेरै बोल्नु परेन ।’ खातुन समानुपातिकतर्फ कि सांसद हुन् ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ मा तीन जना निर्वाचित हुनेछन् । तीन पदका लागि आठ जनाको उम्मेद्वारी दर्ता भएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट खुलामा काँग्रेसका गोपाल बस्नेत, महिलामा एकीकृत समाजवादीकी जयन्ती राई र अल्पसंख्यकतर्फ जनता समाजवादीका हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी एमालेबाट खुलातर्फ गुरु बराल, महिलामा सुमित्रा भण्डारी र अल्पसंख्यक कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले छुट्टै मनोनयन दर्ता गराएको छ । राप्रपाको तर्फबाट झापाका अमर विष्टले खुला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाको प्रदेशसभाका एक सांसद र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी चार जनाको १२० मतभार रहेको छ ।
प्रदेश १ मा नेकपा एमालेबाट निर्वाचित भएका तीन जनाको पद रिक्त भएपछि हुन लागेको निर्वाचनमा कसले बाजी मार्ला भन्ने विषयमा विभिन्न अड्कलबाजी भइरहेको छ । स्थानीय तहका अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन् । निर्वाचनमा प्रदेशसभाका ९३ जना मतदाता हुनेमा टंक आङ्बुहाङलाई माओवादी केन्द्रले कार्वाही गरेपछि उनको पद रिक्त रहेको छ भने १३७ स्थानीय तहतर्फ २७४ मतदाता हुनेमा २ जनाको निधन भएका कारण २७२ जना मतदाता छन् ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानूनी प्राबधान छ । जसअनुसार ९२ प्रदेशसभा सदस्यहरुको मतभार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८९६ गरि जम्मा मतभार ९ हजार ३१२ रहेको छ । प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५२४ मतभार रहेको छ भने गठबन्धनको पाँचदलीय गठबन्धनमा आबद्ध दलहरुको कुल मतभार ४ हजार ६६८ छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।