एमाले जिल्ला अधिवेशन : प्रदेश १ मा १० बुँदे पक्षधर झनै किनारामा

१० बुँदे सहमति गर्दै माधव नेपालको साथ छाडेर एमालेमै रहेका धेरै नेताहरुले यो अधिवेशनमा नेतृत्वमा दाबी गर्ने आँटै गरेनन्

विराटनगर । चितवन महाधिवेशनमै किनारामा पारिएका नेकपा एमाले प्रदेश १ का १० बुँदे पक्षधरहरुलाई जारी जिल्ला अधिवेशनहरुले झनै किनारामा पारिदिएको छ । हालसम्म भोजपुरका शरण राईबाहेक अन्य कुनै पनि जिल्लामा १० बुँदे पक्षधरले जिल्ला नेतृत्व हात पार्न सकेनन् ।

भोजपुरका राई भने जिल्ला अध्यक्ष बन्न सफल भए । झापा, मोरङ लगायतका जिल्लामा १० बुँदे पक्षधरले उपसचिवमा चित्त बुझाउनु परेको छ । झापा र मोरङमा अन्य सबै पदमा ओली पक्षका मान्छे छानिँदा उपसचिव पदमा एक एक जना महिला १० बुँदे पक्षले पाएको छ ।

सुनसरीको अध्यक्षमा ३ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । इनरुवामा जारी ७ औं जिल्ला अधिवेशनमा आइतबार अध्यक्षमा ३ जनाले मनोनयन दर्ता गरेका हुन् । जिल्ला निर्वाचन कमिटीका अनुसार अध्यक्षमा खेमराज पोख्रेल, रेवतीरमण भण्डारी र द्धारिकलाल चौधरीले उम्मेद्वारी दर्ता गराएका हुन् ।

पोख्रेल अधिवेशन आयोजक कमिटीका अध्यक्ष थिए भने भण्डारी र चौधरी दुवै पुर्वअध्यक्ष हुन् । पोख्रेल र भण्डारी दुवै ओली पक्षका हुन् । इटहरीका मेयर चौधरी भने पुस ५ गते पछिको घटना क्रममा तटस्थ झै रहेका थिए । भीम आचार्यकै गृहजिल्लामा १० बुँदे पक्षधरहरु किनारामा पर्दा प्रदेशका अन्य जिल्लामा झनै कमजोर अवस्था बनेको हो ।

हालसम्म मोरङमा ऋषिकेश पोखरेल, झापामा दिपक कार्की अध्यक्ष चयन हुँदा धनकुटाको अध्यक्षमा इन्द्रमणि पराजुली सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई चयन भएका छन् । यसैगरी खोटाङ अध्यक्षमा रामप्रसाद दंगाल चयन भएका छन् ।

आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १० बुँदे सहमति गर्दै माधव नेपालको साथ छाडेर एमालेमै रहेका धेरै नेताहरुले यो अधिवेशनमा नेतृत्वमा दाबी गर्ने आँटै नगरेको एमाले नेताहरु बताउँछन् । ‘हामी यसपटक जसरी हुन्छ आफू जोगिने उपायको खोजीमा छौं,’ मोरङका एक नेताले भने ‘अहिले हाम्रा लागि प्रतिकूल समय छ । त्यो बुझेरै हामीले जिल्लाहरुमा नेतृत्व दाबी नगरेका हौं ।’

आइतबार, २५ पुष, २०७८, साँझको ०६:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर