विराटनगर । प्रदेश १ सरकारले सभामुखसँग सामान्य परामर्शसमेत नगरी प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अन्त्य गरेपछि विपक्षी दलहरुले विरोध गरेका छन् ।
सत्ता संकटमा परेको अनुभूति गरेर सरकारले हठात् रुपमा अधिवेशन अन्त्य गरेको तर सभामुखसँग छलफल नगरेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगाएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले सत्तामा संकट आएको अनुभूति गरेको हुनसक्ने बताए । ‘सभामुखले मंगलबारका लागि बैठकको समय तोकिसकेको अवस्थामा सभामुखसँग छलफल नै नगरी अचानक अधिवेशन अन्त्य गर्नुपर्ने अवस्था थिएन,’ नेता कोइरालाले भने, ‘यो अलोकतान्त्रिक क्रियाकलापको हामी विरोध गर्छौं । सरकारले सत्तामा संकट आएको अनुभूति गरेर यस्तो निर्णय लिएको हुनसक्छ ।’
यसैगरी प्रदेशसभामा तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सत्ता संरक्षणका निमित्त षड्यन्त्रपूर्वक सदन अन्त्य गरेको भन्दै विरोध गरेका छन् । ‘संसदमा बहुमत भएको सरकार संसदसँग डरायो र आफ्नो सत्ता संरक्षणका निम्ति षड्यन्त्र गर्न गरिएको सदन अन्त्य गर्ने निर्णय दुर्भाग्यपूर्ण छ,’ उनले भने । नेता आङ्बोले चालू अधिवेशनबाटै प्रदेशको नामाकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका मुख्यमन्त्रीले दलहरुसँग छलफल र त्यसका लागि तदारुकतासमेत नदेखाएको भन्दै विरोधसमेत गरेका छन् ।