लोड हुँदैछ...

मेनु

सभामुखसँग परामर्शबिनै प्रदेश १ को संसद अधिवेशन अन्य गर्न सिफारिस

सभामुखसँग परामर्शबिनै प्रदेश १ को संसद अधिवेशन अन्य गर्न सिफारिस

विराटनगर । प्रदेश १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू अधिवेशन आज राती १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अन्य गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष सिफारिस गरेको हो ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सदन चलाउने उर्जा सांसदहरुमै नदेखिएकोले अन्त्य गरिएको बताए । ‘सदन चलाउने विषयमा माननीयज्यूहरुको पनि त्यति उर्जा देखिएन,’ कार्कीले भने, ‘प्रदेशको नामाकरणको विषय जहिल्यै पनि सदनमा आउन सक्छ, हामीले चालू अधिवेशन मात्रै अन्त्य गरेका हौं ।’

यसैबीच प्रदेश सरकारले प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीसँग परामर्श नगरी संसदको अधिवेशन अन्य गरेको पाइएको छ । सभामुख भण्डारीले आज बसेको प्रदेशसभा बैठक भोली १ बजे बस्ने गरी स्थगित भएको थियो ।

सभामुख प्रदीपकुमार भण्डारीले भने आफूलाई सदन अन्त्य भएको कुरा थाहा नभएको बताए । ‘ए हो र ? तपाईले भनेपछि मैले पनि यो सूचना थाहा पाएँ,’ भण्डारीले भने, ‘मैले त भोलि १ बजेका लागि संसद बोलाएको छु, सदन अन्त्य गर्ने सरकारको अधिकारको विषय होला, तर मलाई थाहा भएन ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।