काठमाडौं । फुट वा जुटको दोसाँधमा रहेको नेकपा एमालेको माधव कुमार नेपालसमूहलाई सजिलो हुने गरी सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ ।
सरकारले आज राती १२ बजेदेखि लागू हुने गरी संसदको अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपतिलाई गरेको छ । अब केही दिनभित्रै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको तयारी रहेको स्रोतले बतायो ।
दल विभाजनसम्बन्धी कानुन अघि बढाउन नपाएर सरकारले अझैसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन। आफ्नो पक्षका २२ सांसदले देउवालाई विश्वासको मत दिएपछि नेता माधवकुमार नेपाललाई माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाले सरकारमा आउन दबाब दिइरहेका छन्।
तर अहिलेकै अवस्थामा सरकारका जान नैतिक रुपमा असहज बनेपछि कांग्रेस–माओवादी नेतृत्वको गठबन्धनले नेपाललाई एमाले फुटाएर नयाँ पार्टी बनाउन सहज हुने गरी अध्यादेश ल्याउन लागेका हुन् । पार्टी फुटाउनका लागि संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधानलाई खुकुलो बनाउने तयारी गरेको बुझिएको छ । नेपाल समूहमा केन्द्रीय सदस्यहरु ४० प्रतिशत पुगे पनि संसदीय दलमा भने पुग्दैन ।