देउवा सरकार बनेपछि प्रदेश बलियो भएको ओली पक्षकै मन्त्रीको भनाइ

गोरखा भर्ति बन्द गराउन सांसदकोे माग, गिरिबन्धु टि स्टेटको जग्गा सट्टाभर्ना गर्ने संघीय सरकारको निर्णय गलत भएको प्रदेश सरकारको भनाइ

विराटनगर । संघीय सरकार कांग्रेसको नेतृत्वमा भएसँगै प्रदेश बलियो भएको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

प्रदेश १ मा एमाले ओली निकटको नेतृत्वमा सरकार छ । कार्की आफैं पनि ओली निकट मानिन्छन् । तर, उनले आफ्नो पार्टीको नेतृत्वको सरकार ढलेर कांग्रेसको बनेसँगै प्रदेश बलियो भएको विश्लेषण गरेका छन् ।

प्रदेशसभाको आज बसेको बैठकमा सांसदहरुले शून्य र विशेष समयमा उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री कार्कीले यस्तो बताएका हुन् । मन्त्री कार्कीले पहिले संघीय र प्रदेश सरकारको नेतृत्व एउटै पार्टीले गर्दा कतिपय सन्दर्भमा समस्या रहने अवस्था भएपनि शक्ति सन्तुलनमा फेरबदल भएपछि प्रदेश सरकार बलियो भएको टिप्पणी गरे । ‘अहिले राजनीतिको शक्ति सन्तुलन बदलिएको छ अब हामी सबै कुनै न कुनै रुपमा सत्तापक्ष हुन पुगेका छौं,’ मन्त्री कार्कीले भने, ‘कोही संघीय सरकारमा र कोही प्रदेश सरकारका हुँदा सबै जिम्मेवार भएका छौं त्यसैले हामी अहिले बलियो भएका हौं ।’

संघीय सरकारको नेतृत्वमा रहेका दलका सांसदहरुले राष्ट्रिय मुद्दाहरुमा दवाव दिन उठ्ने मुद्दाहरु धिमारुपमा प्रदेशसभामा उठ्ने र प्रदेशको अधिकारका विषयमा संघीय सरकारलाई कडा दवाव दिने वातावरण बनाएकोले अहिलेको शक्ति सन्तुलन प्रदेशको हितमा रहेको उनले बताउनुभयो ।

मन्त्री कार्कीले झापाको बिर्तामोडस्थित गिरीबन्धु टि स्टेटको जमिन भूमाफियासँगको मिलेमतोमा कानून विपरीत सट्टाभर्ना गर्ने निर्णय संघीय सरकारले गरेको विषयमा प्रदेश सरकारलाई जानकारी नभएको बताए । उनले हदबन्दीभन्दा बढी जमिन पछि सरकारलाई नै फिर्ता गर्ने सर्तमा कम्पनीको नाममा राखिएकोमा त्यसलाई कमसल क्षेत्रको जमीनसँग सट्टाभर्ना गर्ने विषय गलत भएकोले प्रदेश सरकार संघीय सरकारलाई लेखेर पठाउन तयार रहेको पनि बताए ।

मन्त्री कार्कीले प्रदेश सरकारले हतारमा प्रदेश प्रहरी ऐन पारित गरेको भए पनि त्यसै अनुसार संघीय सरकारले प्रकृया नबढाइदिएका कारणले प्रहरी समायोजन अघि बढ्न नसकेको बताए । नेपालको केन्द्रीय सत्ता प्रदेश संरचनाप्रति खुसी नभएकै कारण प्रदेशको अधिकारका लागि सातै प्रदेश र सबै दलहरु एकजुट भएर लड्न आवश्यक भएको उनको भनाइ थियो । जवाफकै क्रममा मन्त्री कार्कीले इनरुवा दुहवी सडक संघीय सरकारले हस्तान्तरण गरे त्यसलाई चारलेनमा विस्तार गरी प्रदेश गौरबको सडकको रुपमा विकसित गर्ने बताए ।

यसैबीच शून्य समयमा बोल्दै प्रदेश सांसद मोहन कुमार खड्काले कोरोना उपचार गर्ने अस्पतालहरुमा बिरामीको कुरुवा बस्न नदिदाँ बिरामीहरुको ज्यान गइरहेको भन्दै कुरुवा बस्न पाउने, स्वास्थ्य मापदण्ड पुरा गरी आफन्तले भेटघाट गर्न पाउने व्यवस्था मिलाउन माग गरे । नेकपा एमालेका तर्फबाट विशेष समय लिएर बोल्दै सांसद राजन राईले बेलायतमा गोर्खाहरुले सुरु गरेको सत्याग्रहप्रति आफ्नो समर्थन रहेको बताए । उनले बेलायतका लागि हजारौं गोर्खाहरुले जीवन अर्पण गरेपनि बेलायत सरकारले गोर्खामाथि अन्याय गरेकोमा भत्र्सना गरे । उनले गोरखा भर्ति बन्द गर्नुपर्ने उपर्युक्त समय आएको भन्दै संघीय सरकारको ध्यानाकर्षण पनि गराए । प्रदेशसभाको आजको बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल सुरु भएको छ ।

आइतबार, ३१ साउन, २०७८, रातीको ०८:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर