काठमाडौं । पार्टीको राष्ट्रिय सम्मेलन आगामि पुस ११ देखि १३ गतेसम्म गर्ने गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठकमा प्रस्ताव गरेका छन् ।
काठमाडौस्थित बत्तीसपुतलीमा सुरु भएको बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन पेस गर्दै प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् ।
उनले स्थानीय र प्रदेशस्तरका अधिवेशनहरू सकेपछि पुस ११ गते पार्टीको राष्ट्रिय सम्मेलन गर्ने उल्लेख गरेका छन् । प्रस्तावमा भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ । असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्ताव छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ ।
मङ्सिर १५ मा साथै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव गरेका छन् ।