विराटनगर । सुनसरी प्रहरीले ५ वर्षकी आफ्नै नातिनीको घाँटी बटारेर हत्या गर्नेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा ६ का ६२ वर्षे वसन्त खत्वे रहेका छन् । खत्वेले २०६६ साल वैशाख १६ गते आफ्नी ५ वर्षीया नातिनी सोशिला कुमारी खत्वेलाई घाँटी बटारी मारेर प्लाष्टिकको बोरामा हालेर खेतमा गाडेर फरार भएका थिए ।
सोही घटनामा खत्वेको संलग्नता लाई सुनसरी जिल्ला अदालतबाट २०७४ वैशाख २४ जन्म कैद सजाय तोकेको थियो । फरार प्रतिवादी पक्राउ गर्ने क्रममा खत्वेलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
अहिले सुनसरीमा विभिन्न अपराधमा संलग्न प्रतिवादीहरू धमाधम पक्राउ परिरहेका छन् । ‘फरार प्रतिवादी’ पक्राउ गर्ने अभियान सुरू गरेपछि सुनसरीमा घटेका विभिन्न अपराधमा संलग्न भइ अदालतदेखि कैद सजाय तोकिएका प्रतिवादीहरूलाई सुनसरी प्रहरीले धमाधम पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
अपराधमा संलग्न भइ अदालतदेखि कैद सजाए तोकेपछि फरार भएका प्रतिवादीलाई पक्राउ गर्न सुनसरी प्रहरीले अभियान चलाएको थियो । अभियान सुरू गरेपछि एक महिनामा ठूलो संख्यामा अपराध संलग्न भइ कैद सजाएका पाएका प्रतिवादी पक्राउ परेको प्रहरीको दाबी छ । साउन १ गतेदेखि सुरू भएको यो अभियान अन्तर्गत सुनसरी प्रहरीले हालसम्म २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
पक्राउ पर्ने जघन्य प्रकृतिका अपराधमा संलग्न प्रतिवादीहरू रहेका छन् । ‘अहिले हामीले चलाएको अभियान अपराधिक घटना गराइ समाजमा निस्फिक्री हिंड्ने प्रवृतिका विरुद्ध लक्षित रहेको छ । अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन वा कानूनी दायराबाट उम्कन सकिँदैन भन्ने सन्देश यो अभियानले दिएको छ,’ एसपी थापाले भने ।
विभिन्न मितिमा घटेका विभिन्न आपराधिक घटनामा संलग्न रहेकाहरुलाई सुनसरी अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरु खोजी गर्न प्रहरीले छुट्टै टोली परिचान गरेको छ । सुनसरी प्रहरीका विशेष टोली खटाएर फरार प्रतिवादी पक्राउ परेका हुन् ।
सुनसरी प्रहरीले पक्राउ गरेको फरार प्रतिवादीहरूमा कर्तव्य ज्यान, डाका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टाचार आदीमा सजाय तोकिएकाहरू छन् । पक्राउ परेका फरार प्रतिवादीहरूबाट ४९ वर्ष कैद सजाय फर्छ्योट भएको छ भने ९ लाख ३५ हजार ३ सय ५९ रूपैयाँ जरिवना असुल गरेको सुनसरी प्रहरीले जनाएको छ ।