विराटनगर । उदयपुरको त्रियुगा नदीमा निर्माणाधीन पुल बाढीले बगाएको विषयमा छानविन गर्न संसदीय छानविन समिति गठन गर्न प्रदेशसभा सदस्य बिमल कार्कीले माग गरेका छन् ।
प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद कार्कीले संसदीय छानविन हुनुपर्ने आवाज उठाएका हुन् । २०७६ सालमै निर्माण सम्पन्न गरिसक्नु पर्ने पुलको निर्माणमा पटक–पटक म्याद थपेर ढिलाइ गरिएको भन्दै उनले ढिलाइ गरेकै कारण बाढीले बगाएको बताए । उनले पुलको ११ मध्ये ४ वटा स्लाब भत्किएको र सम्बन्धित कार्यालयले प्राविधिक छानविन भइरहेको भन्दै टार्ने काम गरिरहेकोले संसदीय छानविनको माग गरेका हुन् ।
पुल निर्माणमा भएको ढिलाइले सरकारको लागत बढेको भन्दै सम्झौता गर्दा ९ करोड ७६ लाख लागत अनुमान गरिएकोमा पाँचौं पटक म्याद थप गर्दा लागत बढेर ११ करोड २७ लाख पुगेको बताए । उनले प्रदेश सरकारले विभिन्न ठाउँमा बनाइरहेको पुलहरुको लागत अत्यन्त उच्च रहेको भन्दै त्यस विषयमा पनि छानविन र अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने ‘प्रदेश सरकारले थालेको पुलहरुको लागत अत्यन्त महंगो देखिन्छ । त्रियुगाकै जस्तो लम्बाइ र चौडाइ भएका अरु पुलहरुको लागत ४० करोड भन्दा बढी आएको छ, त्यसको मूल्य किन महंगो भएको हो ? यस्तो डबल स्ट्याण्डर्ड कसरी भइरहेको छ ? खोजी गर्नुपर्ने भएको छ । यस विषयमा संसदीय छानविन होस् भनेर माग गर्न चाहन्छु । ’
बैठकको सून्य समयमा बोल्दै प्रदेशसभा सदस्य लोकप्रसाद संग्रौलाले प्रदेश नामाकरण नहुनुको कारण दृढ इच्छाशक्ति वा आत्मविश्वाको अभाव हो भन्दै सभामुखलाई प्रश्न गरे । उनले प्रदेश नामाकरणको विषयमा सभामुखले रुलिङ गर्नुपर्नेमा जोड दिए । उनले प्रदेशसभा बैठकमा भाग लिन आएका सांसदहरुलाई बैठक भत्ता र यातायात खर्च नदिइएकोप्रति आक्रोश पोख्दै भने ‘सरकारलाई सबै कुरा गर्न पुग्छ तर सांसदलाई यातायात खर्च र बैठक भत्ता दिन किन नपुगेको ? लुट्न पुग्छ भत्ता दिन पुग्दैन ? प्रदेश गौरवको विराटचोक घिनाघाट सडक किन सुस्त भएको ?’
प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवारले नवगठित संघीय सरकार जननिर्वाचित हो भन्दै परमादेशबाट बनेको भन्ने आरोपको खण्डन गरिन् । उनले सून्य समयको दुरुपयोग गरिएको भन्दै सत्तापक्षको प्रस्तुतिको आलोचना गरेकी थिइन् ।
प्रदेशसभा सदस्य राधा थापाले देशलाई विदेशी मुद्रा पठाउने युवाहरु विदेशबाट फर्किदा भन्सारले दुःख दिने गरेको भन्दै विरोध गरिन् । उनले तुइनको डोरी दिएर भारतीय एसएसबीले नेपाली युवक बेपत्ता बनाएको घटनाको छानविन गरी तत्काल कारवाही गर्न माग गरिन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।