विराटनगर । रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले आफूले पार्टीको हितविपरीत कुनै काम नगरेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र मोरङ जिल्ला समितिको बैठकले रंगेली नगरपालिकाका मेयर बगडियालाई तीन दिनभित्र स्पष्टीकरण दिन भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सो निर्णयको विषयमा प्रतिक्रिया लिन खोज्दा प्रमुख बगडियाले आफूले जनताको काम गरिरहेको पनि बताए । आफू काम विशेषले पार्टीको बैठकमा उपस्थिति हुन नसकेको बताउँदै उनले पार्टीको सम्पर्कमै रहेको र निर्वाचित मेयर भएको कारण जनताको काममै रहेको पनि बताए ।

‘म निर्वाचित मेयर हुँ, म अहिले पनि जनताकै काममा लागिरहेको छु,’ बगडियाले भने, ‘मैले माओवादी पार्टीको हित विपरीत र जनताको हित विपरीत कुनै पनि काम गरेको छैन ।’

स्पष्टीकरण पत्र माग गरिएको बारे आफूलाई जानकारी नभएको र यदि आएको अवस्थामा जवाफ दिने पनि उनले बताए । ‘मलाई अहिलेसम्म स्पष्टीकरण सोध्नेबारे भएको निर्णयको जानकारी छैन, यदि त्यस्तो कुनै पत्र आएको खण्डमा हेरेर उत्तर दिनेछु,’ उनले भने । माओवादी पार्टी तपाईले छोड्नुभएको हो कि किन यसखालको कारबाही भयो भन्ने प्रश्नमा बगडियाले आफू माओवादीबाटै निर्वाचित भएको र अहिले पनि पार्टीमै रहेको जानकारी दिए । ‘म अहिले पनि पार्टीमै छु, माओवादी पार्टीबाटै निर्वाचित भएको हुँ,’ उनले भने, ‘आरोप प्रत्यारोपसँग मतलब भएन, मैले त्यस्तो काम पनि गरेको पनि छैन, गर्नु पनि हुँदैन ।’