मुख्यमन्त्री राईले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित वार्षिक समिक्षा गोष्ठी लगतै मुख्यमन्त्री राईले कार्यसम्पादन सम्झौता गरेका हुन् ।

मुख्यमन्त्री राईले आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लिम्बु, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियेत, भूमिव्यवस्था, कृृषि तथा सहकारी मन्त्री रामबहादुर मगर, सामाजिक विकास मन्त्री उषाकला राई र र भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कार्यसम्पादन सम्झौता गर्दै मुख्यमन्त्री राईले जनतालाई परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिए । ‘परिवर्तनको अनुभूती नेता र कर्मचारीमा होइन, जनतामा हुनुपर्छ,’ उनले भने ‘मुख्यमन्त्री राईले जनताले बुझ्ने, देख्ने गरी काम गर्नुहोला ।’

देशमा व्यवस्था परिवर्तन भएपनि मानसिकतामा परिवर्तन नआएको भन्दै मुख्यमन्त्री राईले पुरानो मानसिकता त्यागेर काम गर्न सचिवहरुलाई निर्देशन दिए । देश अहिले संघीय शासन प्रणालीमा गए पनि काम गर्ने शैलीमा कुनै परिवतर्नन नआएको भन्दै मुख्यमन्त्री राईले जनतालाई संघीयता बुझाउन काममै जोड दिनुपर्ने बताए । उनले भने ‘जनतालाई किताब पढाएर संघीयता बुझाउने होइन कामबाट देखाउन सक्नु पर्छ ।’

कोरोना लगायत संकटकाबीच पनि प्रदेश सरकारले उल्लेख्य काम गरेको दाबी गर्दै मुख्यमन्त्री राईले समयमै बजेट कार्यान्वयनमा जुट्न निर्देशन दिए । अन्तिम चौमासिकमा खर्च गर्ने संस्कारको अन्त्य गर्न आग्रह गर्दे उनले पहिलो र दोस्रो चौमासिकमा खर्च बढाउन आग्रह गरे ।

अनावश्यक चालूखर्च कटौती गर्न निर्देशन दिँदै मुख्यमन्त्री राईले बेरुजुजस्ता विषयहरु आउन नहुनेमा जोड दिएका छन् ।
मुख्यमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका मन्त्रीहरुले सरकारका योजना कार्यान्वयन गर्न मन्त्रालयका सचिवहरुसँग सम्झौता गर्नेछन् । प्रदेश सरकारको कामलाई पारदर्शी र नतिजामूलक बनाउन कार्य सम्पादन सम्झौताको अभ्यास थालिएको बताइएको छ ।

 

मङ्गलबार, १९ साउन, २०७८, साँझको ०७:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर