सुनपसल लुटपाट गर्नखोज्ने पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका १० विराट चोकस्थित खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाटको प्रयास गर्ने पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

शिव पञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास गर्ने समूहलाई प्रहरीले मंगलबार राति अत्याधुनिक हतियारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुन्दरहरैचाका सन्तोष राईसहित ५ जना छन् । अहिले अनुसन्धानको क्रममा रहेकोले प्रहरीले पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ । ‘घटनामा संलग्न भएकालाई प्रक्राउ गरिएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले भने, ‘अहिले अनुसन्धानको क्रममा रहेका छौं । प्राविधिकसहितको सबै पक्षदेखि अनुसन्धान गर्दै आएका छौं ।’

मोरङ प्रहरीले पक्राउ परेकालाई पत्रकार सम्मेलन गरि सार्वजानिक गर्ने तयारी गरेको छ । थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा मास्क लगाएर आएको समूहले गत साउन १ गते दिउँसो लुटपाटको प्रयास गरेको थियो । पक्राउ परेकाको साथबाट अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी (मेसिनगन), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल तथा ७० राउण्ड विभिन्न हतियारका गोली बरामद भएको प्रहरीले जनाएको छ ।

लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीय बासिन्दालाई हतियार देखाएर आतङ्कित एवं त्रसित बनाउँदै उक्त समूह उत्तर–पश्चिमतर्फ लागेको थियो । प्रहरीको विशेष टोली घटना भएको १२ दिनपछि उक्त गिरोहसम्म पुग्न सफल भएको हो ।

लुटपाट गर्न खोजिएको दृष्य सुनचाँदी पसलमा रहेको सिसी क्यामेरा फुटेजमा पनि कैद थियो । पक्राउ परेकाको साथबाट बरामद भएको एसएमजी नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको विशेष टोलीले मात्रै बोक्न पाउने हतियार हो ।

बुधबार, १३ साउन, २०७८, दिउँसोको १२:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर