विराटनगर । विराटनगर–१८ देखि जहदा बोर्डरसम्मको झण्डै ८ किलोमिटर सडकखण्ड सम्झौता भएको २ वर्ष बित्न लाग्दा समेत सम्पन्न हुन सकेको छैन् ।

कोरोना महामारी, श्रमिक अभाव र भुक्तानीमा समस्या लगायतका बहानामा ठेकेदार पक्षको लापरबाहीका कारण सो सडकखण्ड निर्माणमा ढिलाई भएको हो । रामलक्ष्मण मार्ग नामाकरण गरिएको सो सडकखण्ड प्रदेश सरकारको बहुबर्षीय योजना अन्तर्गत पर्दछ । आउँदो असोज १३ गतेसम्म सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । तर, मोरङको जहदा गाउँपालिकाको विभिन्न वडा छुँदै तरिगामा गोदामसम्म जाने उक्त सडकखण्ड निर्माण शुरु भएको २ बर्ष बित्न लाग्दा पनि भौतिक प्रगति भने २० प्रतिशतमा सिमित भएको छ ।

ठेकेदारले सडक प्रयोगकर्ताको न्यूनतम आवश्यकता समेत नजरअन्दाज गर्दै मन्द गतिमा अव्यवस्थित निर्माण कार्य गरिरहँदा यसको प्रभाव आम सर्वसाधारण व्यहोर्नु परेको छ । सडक निर्माणका लागि भन्दै दुरुस्त अवस्थामा रहेको ग्राभेल सडक पनि भत्काएर कालोपत्रे नगरिकनै माटो मात्र पुरेर यत्तिकै छाडिदिँदा सर्वसाधारणको नियमित आवागमन समेत प्रभावित बनेको छ । ठेकेदार पक्षको अस्तव्यस्त निर्माण कार्यका कारण एम्बुलेन्स, शववाहन र विद्युतको गाडी लगायतका चारचक्के सवारीसाधनको आउजाउ पुर्णतः ठप्प भएको जहदा १ का स्थानीय इनायत अलिले बताए । ‘सडक निर्माणमा २ वर्षदेखि केहीपनि प्रगति भएको छैन् । भएको सडक पनि यत्तिकै भत्काएर छाडिदिएको छ,’ स्थानीय इनायत अलिले भने, ‘बिरामीलाई अस्पताल लैजान समेत कठिन छ ।’

रामलक्ष्मण मार्गको कतिपय स्थानमा माटो पुर्ने काम गरिएको भएपनि सडक भने हालसम्म ग्राभेल समेत गरिएको छैन् । जसकारण वर्षायामको सुरुवातसँगै सो सडकखण्डको विभिन्न भाग हिलाम्मे बन्दा सर्वसाधाारण चिप्लिएर लडने र चारचक्के सवारीसाधनहरु हिलोमा फस्ने लगायतका समस्या नियमित देखापर्ने गरेका छन् । सडकको दुरावस्थाकै कारण दिनहुँ जसो बाईक दुर्घटना समेत हुने गरेको स्थानीय चन्दन शाहले बताए ।

सडक निर्माणमा ठेकेदारले गरेको लापरबाही र ढिलाई बारे पटकपटक खबरदारी गरेपनि ठेकेदार पक्ष स्वयंम सचेत नभएको जहदा–१ का वडाध्यक्ष प्रदिपचन्द यादवले बताए । उनले गाउँपालिका र सो प्रोजेक्ट हेरिरहेको पुर्वाधार विकास कार्यालयले पनि सो बिषयमा कुनै ठोस कदम नचालेको गुनासो गरे । ‘स्थानीयले पनि पटकपटक आवाज उठाए,’ उनले भने, ‘तर, कसैले सुनुवाई गरेन ।’

२०७६ असोज १३ गते सम्झौता भई ठेक्का प्रक्रियामा गएको सोे सडकखण्ड प्रदेश १ सरकारको १९ करोड ९३ लाख ४० हजार रुँपैयाको बजेटबाट निर्माण हुँदैछ । काठमाण्डौंस्थित ललितपुरको दिवा साह जे.भी.ले इष्टिमेट रकमभन्दा झण्डै २६ प्रतिशत न्यून कबोलअङ्कमा सो ठेक्का हात पारेको हो । तर सम्झौता भएको २ बर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्ने शर्त भएपनि हालसम्म सडक निर्माणमा सन्तोषजनक प्रगति हाँसिल नहुनुमा निर्माण कम्पनीकै कमजोरी देखिएको विराटनगरस्थित पुर्वाधार विकास कार्यालयका प्रमुख राजन राज रेड्डीले बताए । उनले भने, ‘कोरोना कालमा पनि सरकारले विकास निर्माण कार्यहरुलाई अवरोध नपुग्ने गरि आवश्यक व्यवस्था गरेको थियो । तर ठेकेदार कम्पनीले कोरोनाकै बहाना देखाएर निर्माण कार्य प्रभावित बनाएको देखिन्छ ।’

अहिलेसम्म सो सडकखण्डमा भने ड्रेन, कल्भर्ट र ठाउँठाउँमा सडक ग्राभेल गर्ने कार्य मात्र सम्पन्न भएको छ । तर ठेकेदार कम्पनीले भने हालसम्म ६ करोड ४१ लाख ७ हजार ८ सय रुँपैया बराबरको भुक्तानी लगिसकेको पुर्वाधार विकास कार्यालयको तथ्यांक छ । हाम्रोमतसँग सम्पर्कमा आउँदै निर्माण कम्पनीका ठेकेदार आशिष देवले भने विभिन्न कारणले निर्माण कार्य प्रभावित भएपनि अब भने द्रुतगतिमा काम हुने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सम्झौता बमोजिम समयमै निर्माण सम्पन्न हुन नसकेपनि सकभर चाँडै सम्पन्न हुनेगरि प्रक्रिया अघि बढाईने जनाएका छन् ।

विराटनगरस्थित पुर्वाधार विकास कार्यालयले भने रामलक्ष्मण मार्गसहितका अन्य २२ वटा योजनाहरु हेरिरहेको छ ।