पाँचथर । पाँचथरका ग्रामिण सडकको समयमा मर्मत नहुँदा वर्षात्को समय गाउँलेहरुले हैरानी वेहोर्न बाध्य भएका छन् ।
हरेक साल बर्खाको समयमा गाउँगाउँ जाने कच्ची सडक हिलाम्य हुने, पहिरो खस्ने आदि समस्याले सवारी सञ्चालनमा कठिनाइ हुने गरेको छ । जसले सर्वसाधारणलाई गाउँदेखि बजारको यात्रामा समस्या आउनुको साथै दैनिक उपभोग्य वस्तुको ढुवानीमासमेत व्यवधान हुने गरेको स्थानीयहरुले बताएका छन् । सडककै कारण जनजीवन कष्टकर बन्ने गरेको भन्दै उनीहरुले सडकको गुणस्तर सुधार गर्न सरकारले ध्यान नदिएको गुनासो गरेका छन् ।
जिल्लाका आठ वटा स्थानीय तहमध्ये सदरमुकाम फिदिम नगरपालिका, याङवरक गाउँपालिकाको केन्द्र बाहेक अन्य गाउँपालिकाको केन्द्रमा समेत पक्की सडक पुग्न सकेको छैन ।
जिल्लाको राँके–रवी–भेडेटार सडकखण्ड पूर्ण रुपमा अवरुद्ध हुँदा फागुनन्द गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाको सिङ्गो क्षेत्र अहिले समस्यामा छ । यो सडक हिलाम्मे भएपछि मोटरसाइकल समेत चलाउन मुस्किल रहेको स्थानीय सन्जिप भट्टराई बताउछन् । यसले गर्दा दुई गाउँपालिकामा सहज रुपमा पुग्न मुस्किल हुने गरेको छ ।
कुम्मायक गाउँपालिका र हिलिहाङ गाउँपालिका जाने सडक केही मात्रामा सहज देखिएपनि यहाँका भित्री गाउँमा रहेका सडकको हालत उस्तै छ । फालेलुङ गाउँपालिका जाने जोरपोखरी मेमेङ सडकखण्डमा समेत बेलाबेलामा गाडी कुदेकै बखत पहिरो जाने गरेकोले यहाँको यात्रा जोखिमपूर्ण रहेको स्थानीय रंगलाल अधिकारी बताउछन् ।
केही मूख्य सडक बाहेक ग्रामीण सडक खण्डकालागि खाद्यान्नका सामग्री समेत पर्याप्त मात्रामा ढुवानी हुन नसक्दा गाउँबासी चर्काे मूल्यमा खाद्यान्न सामग्री किन्न बाध्य रहेको पाइन्छ ।
मौसम सफा हुँदा र पानी नपर्दा न्यूनमात्रामा ग्रामीण सडक खुलेपनी झरी पर्दा भने बाटोको अवस्था ज्यादै जटिल रहेकाले गाडी कुद्न सक्ने अबस्था छैन ।
जिल्लाका विभिन्न वडाहरुमा जाने गाडीहरुमा ढुवानी साधन चल्न नसक्दा औषधिजन्य वस्तुको समेत पर्याप्त मात्रामा आपूर्ति हुन सकेको छैन । बाटो हिलाम्मे भएपछि मोटरसाइकल भएर पनि गाउँका स्थानीयबासीले त्यसको फाइदा उठाउन सकेका छैनन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।