विराटनगर । कम्युनिष्ट आन्दोलनको लक्ष्य प्राप्त गर्न सबै कम्युनिष्ट पार्टीहरुबीच इमान्दार एकता आवश्यक रहेकोमा कम्युनिष्ट पार्टीका तथा वाम बुद्धिजीविहरुले जोड दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृतिको सन्दर्भमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान मोरङले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली कम्युनिष्ट आन्दोलनमा यतिबेला विपत्ति आइपरेको भन्दै त्यसको रक्षा गर्न इमान्दार एकताको आवश्यकता औंल्याएका हुन् ।
प्रतिष्ठानका केन्द्रीय महासचिव प्रल्हाद बुढाथोकीले मजदुर किसानको मुक्तिका लागि स्थापना भएको नेपालको कम्युनिष्ट आन्दोलनमा अहिले विपत्ति आइपरेको र कम्युनिष्टहरुको लक्ष्य एउटै भएपनि आन्दोलन छिन्नभिन्न हुनपुगेकोमा चिन्ता व्यक्त गरे । उनले नेपाली मजदुरहरुको संगठनका पहिलो अध्यक्ष कर्माचार्य निरन्तर क्रान्तिकारी कित्तामा उभिएर जनवाद र समाजवाद प्राप्त गर्ने उद्देश्यमा जीवनपर्यन्त लागिपरेको भन्दै उनको योगदानको चर्चा गरे । ‘जनमुक्ति आन्दोलनको उद्घोष गर्दै कम्युनिष्ट पार्टी स्थापना गरेका कर्माचार्य सहिद शुक्रराज शास्त्रीलाई राणाहरुले हत्या गरेको बेला प्रत्यक्षदर्शीको रुपमा रहेकै कारण १६ वर्षको उमेरमै राणा विरोधी आन्दोलनमा होमिनुभएको थियो, उहाँ सदैब क्रान्तिकारी कम्युनिष्टको रुपमा रहनुभयो ।’
महासचिव बुढाथोकीले नेपालमा आधारभूत रुपमा नयाँ ढंगबाट जनवादको स्थापना भइसकेको भन्दै समाजवाद स्थापनाको दिशामा अघि बढेर कम्युनिष्ट पार्टी स्थापनाको लक्ष्य पुरा गर्नुपर्नेमा जोड दिए ।
बाम बुद्धिजीवि तथा जनता समाजवादी पार्टीका नेता रामरिझन यादवले परिवर्तित परिवेशमा नेपालका कम्युनिष्टहरुले आफ्नो नाम परिवर्तन गरीसमाजवाद स्थापना गर्न लाग्नुपर्नेमा जोड दिए । उनले कम्युनिष्टहरुको आचरण, व्यवहार र क्रियाकलाप कम्युनिष्ट चरित्रको नभएको तर झण्डा बोकेर हिड्न नछोडेको भन्दै जतिसक्दो छिटो नाम परिवर्तन गरेर जनतालाई भ्रममुक्त पार्नुपर्ने बताए । उनले नरबहादुर कर्माचार्यलाई बुझ्नका लागि उनको योगदानको बारेमा साहित्यहरु, ग्रन्थहरु लेखिनु पर्ने भन्दै प्रतिष्ठानलाई त्यस तर्फ काम गर्न पनि सुझाव दिए ।
नेकपा एमालेका नेता महेश रेग्मीले कम्युनिष्ट पार्टीहरु बीचमा साँचो अर्थमा एकता गर्नसके मात्र कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्माचार्य लगायतको सपना पुरा हुने बताए । उनले कम्युनिष्ट पार्टीहरुभित्रका क्रान्तिकारी धारले दक्षिणपन्थीहरुलाई परास्त गर्दै वृहत एकतामा जोड दिनुपर्ने बताए ।
पछिल्लो समय नेपालका कम्युनिष्ट पार्टीहरु विचार र आदर्शबाट टाढिदै गएको, क्रान्तिकारी मार्गबाट च्युत हने अवस्था आएको भन्दै कम्युनिष्ट आन्दोलन अरुका कारणले नभई आफैं भित्रको कमजोरीका कारण कमजोर बन्दै गएको नेता रेग्मीले बताए । ‘समय फेरिएपनि हामीले हाम्रो बानी फेर्न सकेनौं,’ उनले भने ‘जनतामा जाँदा क्रान्तिकारी हुने सत्तामा पुगेपछि क्रान्तिकारीपन फिका बन्ने उल्टो अवस्थाले कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको छ ।’
उनले कम्युनिष्ट पार्टीभित्रको दक्षिणपन्थी अवसरवादलाई अन्त्य गर्ने प्रयत्न निरन्तर गर्नुपर्ने भन्दै दक्षिणपन्थी अवसरवादलाई अन्त्य गर्न संघर्ष गर्ने, सम्भव नभए क्रान्तिकारीहरुले विकल्पसहित कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन र पुनर्संगठित गर्नुपर्नेमा जोड दिए ।
नेकपा माओवादी केन्द्र मोरङका नेता गणेश उप्रेती सुशिलले मरेकाहरुबाट बाँचेकाले सिक्ने परम्परालाई निरन्तरता दिन नसक्दा कम्युनिष्ट पार्टीहरु अहिलेको अवस्थामा आइपुगेको टिप्पणी गरे । उनले भने ‘मरेकाहरुबाट सिक्ने परम्परा कमजोर भयो, संस्थापनहरुको सपना भष्मासुर प्रवृत्तिले चकनाचुर बनायो ।’ तरपनि कम्युनिष्टहरुमा आशावादीता सँधै जीवित रहने भएकोले निरन्तर संघर्षबाट समाजवाद स्थापना गर्न लाग्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्राध्यापक मनोज राउतले कम्युनिष्टहरु विभाजित अवस्थामा भएपनि साँचो एकताप्रति निरन्तर इमान्दार प्रयास गरेर मात्र संस्थापकहरुको सम्मान हुन सक्ने बताए । उनले एकताले मात्र अधिकार र लक्ष्य प्राप्त गर्न सकिने बताए ।