विराटनगर । दुई महिनाअघि भएको सवारी दुर्घटनाका एक घाइतेको उपचार खर्च पिडक पक्षले व्यहोर्न नमान्दा उनी विचल्लीमा परेका छन् ।
सुनसरीको खनारस्थित मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएका ३० वर्षीय कमल भुजेल उपचार पुर्ण नभएपछि पिडाबोध गर्न बाध्य भएका हुन् । पिडक पक्षले थप उपचार गराउनुको साटो मिल्न दबाव दिने गरेको पीडितको भनाई छ । गएको बैशाख २४ मा दक्षिणबाट उत्तरतर्फ गईरहेको दुहबीका आशिष कुमार माझीले चलाएको मोटरसाईकलले उनलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा परि गम्भीर घाईते भएका भुजेलको टाउकोमा गहिरो चोट लागेको थियो ।
स्थानीयको सहयोगमा विराटनगर–२ स्थित विराट नर्सिङ होममा पुर्याईएका उनको प्रथम चरणको टाउकाको मेजर अपरेशन सम्पन्न भईसकेको छ । दोश्रो चरणको न्युरो सर्जरीका लागि अस्पतालले अबको १५ दिनको मिति तोकेको छ । उक्त शल्यक्रियामा पहिले अपरेशन गरेर निकालेको खप्परको हड्डी लगाउने तयारी रहेको अस्पतालले जनाएको छ । उक्त शल्यक्रियामा शल्यक्रिया शुल्कतर्फ १ लाख २५ हजार, औषधीतर्फ १ लाख, डाईग्नोष्टिक तथा प्याथलोजीतर्फ २५ हजार, बेड तथा डाक्टर शुल्कतर्फ ९५ हजार र इम्प्लान्टतर्फ ३५ हजार गरि थप ३ लाख ८० हजार रुँपैया खर्च हुने अनुमान गरिएको अस्पतालका लेखा अधिकृत सुबास पोखरेलले बताए । ‘अस्पतालले डेढ महिनामा अर्को अपरेशन गर्नुपर्ने भनेको थियो । तर उहाँहरु करिब महिनादिन जति अस्पतालमै बस्नुभयो । अब १४/१५ दिनभित्र अर्को अपरेशन गरिहाल्नुपर्छ,’ उनले भने, ‘घाईते अस्पताल आउँदा अवस्था एकदमै क्रिटिकल थियो । चान्स लिएर उपचार गरिएको थियो । अहिले बिरामीको अवस्था सामान्य हुँदै गएको छ ।’
तर उपचार खर्च बापत हालसम्म १० लाख रुँपैया तिरिसकेको पिडक पक्षले थप पैसा तिर्न नमानेकोे घाईते भुजेलकी श्रीमती पल्मा तामाङ बताईन् । उनीले मोटरसाईकल चालक आशिष अहिले झुम्कास्थित जिल्ला कारागारमा भएपनि उनको परिवारले उपचार खर्च दिन आलटाल गरिरहेको गुनासो गरिन । ‘पिडक पक्षको आलटालका कारण उपचार पुर्ण हुन सकेको छैन,’ उनीले भनिन्, ‘उपचार पुर्ण गराउनुको सट्टा पिडकको आफन्तले उल्टै १ लाखमा मिल्न दबाब दिईरहेका छन् ।’
स्थायी ठेगाना भारतको बेस्ट बङ्गालस्थित कालचिनी भई अस्थायी रुपमा खनार बस्दै आएका भुजेल रोजगारीको सिलसिलामा ३ वर्र्षअघि नेपाल आएका थिए । विराटनगरको रोडशेषस्थित नमस्कार होटलबाट रोजगारी सुरु गरेका उनी करिब अढाई वर्ष रानीको मिल्सएरिया बसे । तर निषेधाज्ञाका कारण होटलको रोजगारी गुमेपछि उनले सुनसरीको इटहरी–१२ खनार चोकस्थित खाम्दाके होटलमा कुकको जागिर खान थाले । तर जागिर खाएको २ महिना नबित्दै गएको बैशाख २४ मा बेलुका घर फर्किने क्रममा उनी दुर्घटनामा परेका हुन । घटनास्थलमै मुुर्छित परेका उनलाई स्थानीयको सहयोगमा अस्पताल पुुर्याईएको थियो । पहिलो चरणको शल्यक्रिया सकेर यही साउन ५ गते अस्पतालले उनलाई डिस्चार्ज दिएको हो ।
पहिलो अपरेशन गराएर डिस्चार्ज भएका भुजेल र उनको श्रीमती हाल नर्सिङ होम अगाडिकै भोजपुरे होटलमा बस्दै आएका छन् । आर्थिक रुपमा विपन्न रहेका उनीहरुसँग सम्पत्तिको नाममा थोथ्रे मोबाईल र सुत्ने ओछ्यान मात्र छ । मिल्सएरियामा रहेका भुजेलको दिदी भिनाजुले पनि साथ नदिएपछि उनीहरुको अवस्था दयनीय बनेको छ ।
दाईजोमा आएको पल्सरले दुर्घटना
दाईजोमा आएको कालो/रातो रङको पल्सर मोटरसाईकलले पैदल यात्री भुजेललाई ठक्कर दिएको प्रहरीको अनुुसन्धानबाट खुलेको छ । मोटरसाईकल, सवारी अङ्गभङ्ग मुद्दाका आरोपी आशिष कुमार माझी स्वयंमको नभई छिमेकीको रहेको प्रहरीले जनाएको छ । मोटरसाईकल दुहबी बस्ने बबिता कुमारी विश्वासको नाममा दर्ता रहेको ईलाका प्रहरी कार्यालय ईटहरीका प्रहरी नायब निरिक्षक शिव खत्रीले बताए । ‘हाम्रो अनुसन्धानले गाडी अर्कैको नाममा रहेको खुलेको छ,’ उनले भने, ‘गाडी पास पनि भईसकेको छैन् ।’
सवारी अङ्गभङ्गको कसुरमा पक्राउ मोटरसाईकल चालक माझीलाई ईलाका प्रहरी कार्यालय ईटहरीले प्रारम्भिक अनुसन्धान पश्चात पीडित पक्षको क्षतिपुुर्तिका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीको जिम्मा लगाएको थियो । सुनसरी प्रशासनले ‘सवारी दुर्घटना क्षतिपुर्ति मुद्दा’ दर्ता गरेर फरार रहेका सवारी धनीलाई समेत पक्राउ गरि पीडित पक्षलाई क्षतिपुर्ति दिलाएको जिल्ला प्रशासन कार्यालय सुनसरीका ना.सु. सन्दिप सुवेदीले बताए । तर सवारी चालक र सवारी धनीबिचको सम्बन्ध भने अझै पनि स्पष्ट नभईसकेको उनले जानकारी दिए । मुद्दा अहिले अनुसन्धानकै क्रममा छ । ‘चालक र सवारी धनीबिचको सम्बन्ध अझै खुलेको छैन,’ उनले भने, ‘दुवैबिच भान्जा÷माईजुको सम्बन्ध रहेको खबर छ । तर पुष्टि भने भईसकेको छैन् ।’
दुर्घटना भएलगत्तै पक्राउ परेका मोटरसाईकल चालक आशिष कुमार माझी भने जिल्ला अदालतको आदेशले हाल झुम्कास्थित जिल्ला कारागारमा छन् ।
यस्तो छ कानुनी दण्ड सजाय
कानुनमा कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिसको त्यस्तो दुर्घटनाको कारणबाट अङ्गभङ्ग भएमा त्यस्तो कार्य बदनियत साथ गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यस्तै कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानसिलाई किची, ठक्कर लागि वा दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिसको अङ्गभङ्ग भएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था गरिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।