मोरङ कांग्रेसले डायनियामा वीपी जयन्ती मनायो

विराटनगर । नेपाली कांग्रेस मोरङले डायनियास्थित वीपी सेवा केन्द्रमा वीपी जयन्ती मनाएको छ । सेवा केन्द्र परिसरमा वृक्षारोपण गर्नुका साथै वीपीले देखाएको लोकतान्त्रिक समाजवादको बाटोको विषयमा छलफल गरिएको थियो ।

पार्टीका जिल्ला सभापति डिकबहादुर लिम्बूले कांग्रेसको १४ औं महाधिवेशनको नजिकिएको सन्दर्भमा वीपी विचारको महत्व अझ बढेको चर्चा गरे । लिम्बूले भने,“जसले नयाँ विचार दिन सक्छ, बेरोजगार युवाको समस्या समाधान गर्ने र विकास दिन सक्नेलाई पार्टीको नेतृत्वमा लैजानु पर्ने आजको आवश्यकता हो ।” अहिलेको परिस्थितिमा वीपीले स्थापित गरेका मान्यताहरु थप महत्वपूर्ण भएको लिम्बूले बताए ।

पूर्वमन्त्री दिलिप गच्छदारले कांग्रेसले नै अबको नेतृत्व लिएर जनहितमा काम गर्नुपर्ने बताउँदै भने, ‘नयाँ संविधान कार्यान्वयन र गणतन्त्रको संस्थागत विकास अब कांग्रेसको नेतृत्वबाट सहज बन्नेछ ।’ पार्टीका जिल्ला उपसभापति शिवनारायण सिंह गनगाईले कांग्रेस लोकतन्त्रको पर्याय भएको बताए । वीपीले प्रतिपादन गरेका सिद्धान्तलाई व्यवहारिक रुपमा लागू गर्दै लैजानु कांग्रेसजनको पहिलो जिम्मेवारी भएको उनको जोड थियो ।

त्यस अवसरमा सेवा केन्द्रका नागेश्वर सिंहसहितका वक्ताले वीपीको विचारबाट कांग्रेस पछि हट्न नहुने बरु व्यवहारिक रुपमा कार्यान्वयन गर्दै लैजानु पर्ने सुझाव दिए ।

बुधबार, ०६ साउन, २०७८, साँझको ०६:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर