विराटनगर । विराटनगर–१७ इस्लामपुर नेपाली भूमिमा बन्न लागेको नाला भारतीय सुरक्षाकर्मीले निर्माणमा रोक लगाएको छ । पानी निकासको लागि विराटनगरको सीमावर्ती क्षेत्रमा बन्न सुरू भएको नाला भारतीय पक्षको अवरोधको कारण अहिले रोकिएको छ ।
भारतीय बजार जोगबनीबाट बगेर आएको पानी जगलमग्न भएर इस्लामपुर क्षेत्र डुवानमा पर्ने भएकोले जमेको पानी निकासको लागि बन्दै गरेको नाला भारतले रोक लगाएको स्थानीय बताउँछन् ।
भारत विहार राज्यको अररिया जिल्लाको जोगबनी बजारसँग सीमा जोडिको विराटनगर–१७ मा पर्ने इस्लामपुरमा नेपाली भूमिभित्रै पानी निकास गराउन निर्माण भइरहेको पक्की नाला निर्माणमा भारतीय सीमा सुरक्षा बलले धाकधम्की दिँदै रोक लगाएको वडाअध्यक्ष समीर कमरले जानकारी दिए । इस्लामपुरमा दसगजा नजिकै रहेको सडकमा पक्कि नाला बनाउन सुरू गरेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको उनले बताए । एसएसपीले अवरोध गरेपछि अहिले काम रोकिएको छ ।
वर्षाको समयमा भारतीय बजार जोगबनीबाट नेपालतर्फ दशगजामा नाला निर्माण गरेर भारतले पठाएको पानीको डुबानबाट जोगिन विराटनगर महानगरपालिकाले ईस्लामपुर बस्तीमा नाला निर्माण थालेको थियो । वर्षा सुरु भएपनि इस्लामपुरका एक सय घरपरिवारले पाउँदै आएको सास्तीबाट मुक्त गर्न नेपाली भूमीकै पैनीमा पानी बग्नेगरि नाला निर्माण गरिएको भए पनि भारतीय सीमा सुरक्षा बल र प्रशासनका अधिकारीहरुले धाकधम्की दिँदै नाला निर्माणमा रोक लगाएको वडाअध्यक्ष कमरले बताए ।
‘नेपाली भूमिमा जलमग्न भएको पानी निकास गरेर भारतीय भूमि र बस्ती डुबानमा पार्न खोजेको भन्दै भारतीय एसएसबीले गालीगलौज गर्दै हाम्रो भूमि भित्रै बन्दुक तेस्र्याएर नाला निर्माण गर्न अहिलेसम्म दिएको छैन,’ स्थानीय कैलाशप्रसाद साहले भने, ‘हप्ता दिनअगाडि नाला बनाएर अहिले इँटाको गाह्रो उठाउन सुरू गरिएको थियो । भारतीय पक्षको एसएसपी आएर अहिले निर्माण कार्यमा रोक लगाएको छ । अहिले उक्त काम आधाकल्चो बनाएर छोडिएको छ ।’
उनका अनुसार बन्दुक बोकेका भारतीय सुरक्षाकर्मीहरु आएर अपशब्दले गालीगलौज गर्दै नाला निर्माण नगर्न धम्की दिएपछि दश दिनदेखि नाला निर्माण कार्य ठप्प भएको हो । भारतीय सुरक्षाकर्मीहरुको डरले नाला निर्माण गर्न डकर्मीहरु आउन नमानेको बताए । ‘नाला बनाउन सुरू गरेको २/३ दिनपछि एसएसपीले धम्की दिएपछि अहिले नाला निर्माण हुन सकेको छैन,’ उनले भने ।
एक सय बढी घरपरिवार बसोवास गर्दै आएको इस्लामपुर बस्तीमा नेपालीहरुले निकासका लागि निर्माण गरेको नालाको पानी दशगजा क्षेत्रसँग जोडिको नेपाली भूमिको पैनीमा पुग्ने गरेको छ । ‘इलास्मपुरमा जमेको पानी निकास भएर भारतमा गएको परमान नदीमा मिसिन्छ । यसैले उक्त निकासको पानीले भारतीयहरुको बस्ती र भूमी डुबानमा पार्दैन,’ शिक्षक हुदाले भने, ‘नेपालीहरूले आफ्नो पानी भारततर्फ नपठाएको बरु भारतबाटै निकास भएर आएको पानी नेपाली भूमिको पैनीमा बग्ने गरि निकास गर्न नाला निर्माण गरेको हो । हामीले भारतीय पक्षलाई सम्झाउँदा पनि अहिलेसम्म मानेका छैनन् ।’
उनीहरुले एकोहोरो जसरी पनि नाला निर्माण गर्न रोक्नुपर्ने भन्दै नेपाली भूमिभित्रै नाला बनाउन नदिएको स्थानीय महमद इनाम मियाँले बताए । ‘भारतको जोगवनीदेखि हाम्रो नेपाल तिर आएको पानीले इस्लामपुर क्षेत्र जलमग्न हुने गरेको छ । त्यही पानी हाम्रै जमिन हुँदै निकास गर्न नाला निर्माण गर्छु भन्दा नदिनु भारतीय दादागिरी शैली हो,’ उनले भने, ‘अहिले पनि जोगबनीको पानी दशगजा क्षेत्रमा नाला निर्माण गरेर भारतले मटेर्वा नाका, राईस मिल र रामसेवी र इस्लामपुर टोलमा पठाइरहेको छ ।’ भारतबाट आएको पानीले गर्दा नै सीमा क्षेत्रका नेपाली वस्ती वर्सेनि डुबानमा पर्दै आएका छन् । तर, उक्त कार्यको नेपाल प्रशासनले आजसम्म नत कुनै रोक लगाएको छ नत विरोध नै जनाएको छ ।
भारतले दशगजामा नाला निर्माण गरेर पठाएको पानीले गर्दा यहाँका स्थानीय वर्षेनि डुवानमा पर्दै आएको भएपनि सरकारले कुनै पहल नगरेको उनीहरूको गुनासोे छ । सीमा क्षेत्रमा बसोवास गर्ने नेपलीले जोगबनी बजारको पानी नेपालतर्फ पठाउने कार्य तुरुन्त रोक लगाउनु पर्ने र नेपाली भूमिभित्र नाला निर्माण कार्य खुल्ला गराउन प्रशासनले तुरुन्त पहल गर्नुपर्ने माग गरेका छन् ।
विराटनगर १७ र १८ नम्बर वडामा पर्ने जोगबनी बजारसँग जोडिएको सिमावर्ती बस्तीहरु इस्लामपुर, राईसमिल र रामसेवी टोलमा तीन सय बढी घरपरिवार बसोवास गर्दै आएका छन् ।
नेपाली भूमिभित्रै नाला निर्माणमा भारतीयले रोक लगाएको वडा अध्यक्ष मार्फत गुनासो आएपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले दुई दिनअगाडि सो क्षेत्रका निरीक्षण गरेका थिए । त्यसबेला उनले चाँडै भारतीयहरुसँग वार्ता गरेर निर्माण कार्य सूचारु गराउन पहल गर्ने बताएका थिए । तर, दश दिन वितिसक्दा पनि भारतीयसँग कुनै वार्ता नहुँदा निर्माण कार्य ठप्प छ । ‘भारतीयहरूले अझै वार्ता गर्न चाहेका छैनन् । मोरङका प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘भारतीयहरुले छलफल गरौंला भनेका छन् । तर, भएको छैन । भएपछि समाधान निकाल्ने छौं ।’
वडा अध्यक्ष समिमले वर्ता गरेर समाधान निकाल्ने भन्दै सिडिओले दिएको आदेश अनुसार आफुहरूले निर्माण कार्य रोकेको बताए । वर्तामा ढिलाई भए आफुहरू नेपाली भूमिमा निर्माण कार्य अगाडि बढाउने उनले बताए । ‘छलफलदेखि समाधान खोज्ने सिडिओ साहेबले भनेपछि हामीले काममा रोकेका हौं । नत्र हामी भारतीयको धम्कीले टेर्ने थिएनांै,’ वडाअध्यक्ष समिमले भने ।