एमाले केन्द्रीय समितिको बैठक : देउवालाई मत दिनेलाई २४ घण्टे स्पष्टीकरण, १० बुँदे अनुमोदन

काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना पार्टीका सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

बैठकले पार्टी एकताका लागि भन्दै यसअघि १० जना सम्मिलीत कार्यदलले गरेको सिफारिसलाई अनुमोदन पनि गरेको छ ।

ललितपुरको च्यासलमा आज बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ‘फ्लोर क्रस गर्नु पार्टी अनुशासन र जनमत विपरीतको काम हो, त्यसैले २२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ’ वैठकपछि पत्रकारसँग पार्टीका प्रवक्ता तथा एमाले नेता प्रदीप ज्ञावालीले भने, ‘उहाँहरुले दिएको जवाफको आधारमा पार्टीले चाल्ने थप कदम तय हुन्छ ।’

प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका माधवकुमार नेपालसहितका २२ जना सांसदले मतदान गरेका थिए । देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’लगायत छन् ।

यसैबीच केन्द्रीय कमिटी बैठकबाट दश बुँदे सहमति अनुमोदन गरेको छ । एकता जोगाउन गठित कार्यदलले जुटाएको दश बुँदे सहमति बैठकले अनुमोदन गरेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए भने बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने बैठकमा अनुपस्थित थिए ।

सोमबार, ०४ साउन, २०७८, दिउँसोको ०२:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर