काठमाडौं । अमेरिकाबाट अनुदान प्राप्त एक पटक लगाउँदा हुने जोन्सनको खोप काठमाडौंबाट लगाउन सुरु गरिएको छ । खोप केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले अनुगमन गरेका छन् ।
देउवाले आज जोरपाटीस्थित अपाङ्ग अस्पतालको खोप केन्द्रबाट अनुगमन सुरु गरेका हुन् । देउवा बिहान १० बजे खोप केन्द्र पुगेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले अपाङ्ग अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र पाटन अस्पताललगायत खोप केन्द्रको निरीक्षण गर्नेछन् ।
आजदेखि लगाउन सुरु गरिएको जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई दिने कार्यक्रम छ । यो खोप एक पटक मात्रै लगाउँदा हुन्छ । ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म काठमाडौंमा जोन्सनको खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकाले यो खोप १५ लाख ३४ हजार ८५० डोज नेपाललाई दिएको छ ।
उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत दिने तयारी गरेको मन्त्रालयले जनाएको छ ।