धेरै उड्ने प्रयास नगर्न मिनेन्द्र रिजालद्वारा ओलीलाई चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरै उड्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

आज बसेको संसद बैठकमा शेरबहादुर देउवाको पक्षमा मत दिन आग्रह गर्ने क्रममा रिजालले यस्तो बताएका हुन् । ग्रिक पौराणिक कथाको उदाहरण दिँदै रिजालले प्रतिपक्षी भएर धेरै उड्ने प्रयास गरे समाप्त हुने संकेत गरे ।

‘एउटा टापुको जेलबाट निस्किएर भाग्नेक्रममा इकारसलाई उसको बाबु डेडालसले कृत्रिम पखेटा बनाइदिन्छ र सम्झाउँछ ः समुद्रको आर्द्रता धेरै हुन्छ, धेरै तल पनि नजाऊ । धेरै माथि पनि नजाऊ, सूर्य तातो हुन्छ ।’ संसद्मा देउवाका लागि विश्वासको मत माग्दै देउवालाई अदालतले प्रधानमन्त्री बनाएको भन्ने एमालेको आरोपलाई उनले खण्डन गरे ।

‘अदालतले देउवालाई प्रधानमन्त्री बनाएको होइन । संविधानअनुसार दलहरूले प्रधानमन्त्री दिन नसकेर संसद् नै विघटन हुने अवस्था आउँदा धारा ७६ (५) अनुसार विवेकको मत दिएर संसद्को रक्षा गर्नसक्नेबारे सम्झादिएको मात्रै हो,’ उनले ओलीलाई लक्षित गर्दै भने, ‘प्रचण्डलाई विवेकको मत दिन बाध्य गराएको अदालतले होइन । माधव नेपाललाई विवेकको मत दिन बाध्य गराएको अदालतले होइन । तपाइँको अहंकारले हो । त्यसैले अहंकारबाट निस्कनुस् ।’

रिजालले ओली नेतृत्वको सरकारले कोरोना संक्रमणका बेला खोपमा भ्रष्टाचार गरेको, अन्य दलका नेताहरुलाई सहमतिमा ल्याउनुको साटो अपमान र मनपरी गरेको आरोप पनि लगाए । रिजालले प्रचण्डको अनुहार देखाएर दुई तिहाई भनेको र आफ्नो दल पनि फुटको अवस्थामा पुर्याएर ओलीले गल्ती गरेको पनि बताए ।

आइतबार, ०३ साउन, २०७८, साँझको ०७:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर