काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।
संसदमा आज विश्वासको मत माग्ने क्रममा बोल्दै देउवाले ३ वर्ष सरकार संचालन गर्दा गरेका राम्रो कामका लागि ओलीलाई धन्यवाद दिएका हुन् ।
‘निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गएका तीन वर्षमा गरेका असल कामलाई धन्यवाद दिन चाहन्छु,’ देउवाले भने। प्रधानमन्त्री देउवाले देशमा सुशासन कायम गर्नुपर्ने अवस्था रहेको बताए। उनले राजनीतिक दल एकअर्काका शत्रु नभई सहयात्रीको रूपमा रहेको बताउँदै एमालेसँग पनि सहकार्य गरेर अघि बढ्ने बताए ।
देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भए : प्रदीप ज्ञवाली
यसैबीच नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् ।
विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै ज्ञवालीले २०६१ सालमा श्री ५ बाट प्रधानमन्त्री नियुक्त भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन् । उनले दुई पटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको भन्दै देउवा अरुको पार्टी विभाजन गरेर प्रधानमन्त्री बन्न लागेको आरोप पनि लगाए ।
‘संविधानको अजिव व्याख्या भयो । हामी त्यसप्रति चिन्तित छौं । सर्वोच्चको आदेशले प्रतिनिधिसभाका हरेक सांसदलाई ह्वीप नलाग्ने भयो । यसले राजनीतिक विभाजन ल्याउँछ,’ ज्ञावालीले भने ।