काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर संविधान र संसद जोगाउन झलनाथ खनालले एमाले सांसदहरुलाई आग्रह गरेका छन् ।
भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता झलनाथ खलालको यस्तो आग्रहले एमालेमा खैलाबैला मच्चिएको छ । अर्का बरिष्ठ नेता माधवकुमार नेपालले पनि देउवालाई मत दिने बताउँदै आएका छन् ।
‘नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु,’ खनालले आज दिल्लीस्थित एपोलो अस्पतालबाट एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रस्ट पार्न चाहन्छु ।’