विश्वासको मत लिने प्रस्ताव संसदमा दर्ता : देउवालाई ८ मत अपुग, माधव पक्षले देला ?

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका छन् । देउवाले उक्त प्रस्ताव दर्ता गरेसँगै विश्वासको मत पाउलान् या नपाउलान् भन्ने विषयमा सर्वत्र चासो बढेको छ ।

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा बहुमत देखाएका देउवाले सो पक्षले मत नदिएको खण्डमा ८ मत अपुग हुने देखिएको छ ।

हालसम्म प्रधानमन्त्री देउवाको पक्षमा कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४८, जनता समाजवादी पार्टीको ३४ सांसदमध्ये उपेन्द्र यादव पक्षमा १७, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ गरी १ सय २८ सांसद पुगेका छन् । देउवाले अब बहुमत पु¥याउन चाहिने संसद संख्या १३६ का लागि ८ मत आवश्यक पर्ने देखिएको छ ।

त्यस्तै सभामुख अग्नि सापकोटाले बराबर भएको अवस्थामा मत दिन पाउने छन्। तर स्वतन्त्र रूपमा निर्वाचित छक्कबहादुर लामा पछिल्लो समय माओवादीनिकट छन्। उनले पनि देउवालाई मत दिन सक्नेछन्।

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा रिट दायर गर्ने बेला यादव पक्षका सांसद १२ जना हस्ताक्षर गरेका थिए। तर ओली सरकारको विस्थापनसँगै उपेन्द्र यादवको पक्षमा १७ सांसद पुगेका छन्। राष्ट्रिय जनमोर्चाको एक मात्र सांसद दुर्गा पौडेलले पनि देउवालाई मत दिनेछन्।

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा रिट दायर गर्दा माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए। ती २३ सांसदले नै देउवालाई मत दिए १ सय ५१ मत पुग्नेछ। तर, अहिलेसम्म माधव पक्षका कति जना सांसदले देउवालाई मत दिन्छन् भन्ने स्पष्ट भइसकेको छैन ।

आइतबार, ०३ साउन, २०७८, बिहानको ११:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर