विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठकबाट आजै संसदमा विश्वासको मत लिने भएका छन् ।
सर्वोच्च अदालतले असार २८ गते पुनर्स्थापना गरेको प्रतिनिधिसभाको पहिलो बैठकबाट विश्वासको मत लिन प्रस्ताव दर्ता भएको छ ।
सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिर्छ । देउवालाई विश्वासको मत दिन दलीय ह्विप नलाग्ने व्याख्या सर्बोच्च अदालतले गरेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधबकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र जनमोर्चाको सर्थन देउवालाई छ ।
प्रतिनिधिसभामा सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । यो सबै मत आउँदा पनि २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक १३६ मध्ये देउवालाई ८ मत पुग्दैन ।
एमालेको माधवकुमार नेपाल समूहले संसद बचाउन विश्वासको मत दिने बताईसकेको छ । संविधानको धारा ७६ (५) अनुसार देउवाले प्रधानमन्त्री दाबी गर्दा राष्ट्रपति कार्यालयमा नेपाल समूहका २६ सांसदले हस्ताक्षर बुझाएका थिए भने सर्बोच्च अदालतमा २३ जनाको हस्ताक्षर थियो ।
प्रतिनिधिसभा विघटन भएपछि संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा १४६ सांसदले रिट दिएका थिए ।